१४ बैशाख २०८१, शुक्रबार

सेतो मच्छेन्द्रनाथको रथयात्रा रोकियो, क्षमा पूजा सम्पन्न

seto machhindranath

कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन यस वर्ष सेतो मच्छेन्द्रनाथको रथयात्रा स्थगित भएपछी आज क्षमा पूजा गरिएको छ ।

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन दरबारमार्गस्थित तीनधारा संस्कृत छात्रावासअघिबाट रथयात्रा शुरु हुने जात्रा यस वर्षा गर्न नसकिने भएपछि माफी माग्दै आज क्षमा पूजा गरिएको सेतो मच्छेन्द्रनाथ रथयात्रा व्यवस्थापन समितिका संयोजक एवं काठमाडौँ महानगरपालिका–२५का अध्यक्ष नीलकाजी शाक्यले बताए ।

एक हजार १४० वर्ष अघि शुरु भएको वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको जात्रा कोरोना भाइरसको सङ्क्रमणको खतरा अन्त्य भएपछि स्वस्ति शान्तिसहित कोटीहोम गर्ने समितिले जनाएको छ।

नवमीका दिन असनबाट हनुमानढोकाको कालभैरवसम्म, दशमीका दिन कालभैरवबाट चिकमुङ्गल, जैसीदेवल हुँदै लगनसम्म तान्ने गरिन्थ्यो । एकादशीका दिन लगनको पीपलबोटमा सेतोमच्छेन्द्रनाथका आमालाई तीनपटक घुमाउने परम्परा थियो । द्वादशीका दिन लगनबाट मच्छेन्द्रबहाल ल्याई सिन्दूर जात्रा गरेपछि पाँच दिन लामो जात्रा सकिने विधि थियो ।

काठमाडौँमा सेतो मच्छेन्द्रनाथको जात्रा भएपछि मात्र ललितपुरमा रातो मच्छेन्द्रनाथको जात्रा गरिन्थ्यो । रातो मच्छेन्द्रनाथको जात्रा अक्षय तृतीयाका दिनदेखि शुरु हुन्छ । यस वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि गुठी संस्थान, समिति, बहालका गुठियार, वडा कार्यालयलगायत सरोकार भएका निकायका प्रतिनिधि सम्मिलित बैठकले जात्रा नगरी क्षमा पूजा गर्ने निर्णय गरेको थियो ।