१५ बैशाख २०८१, शनिबार

एमालेमाथि राष्ट्रियसभा चुनाव गर्ने प्रहारको अन्तिम किस्ता हो : ओली

kp oli mahila programme
फाइल फोटो

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभाको आगामी निर्वाचनमा आफूहरुका लागि प्रतिकूल परिणाम आउन सक्ने भन्दै त्यो हिजोको जनमतको दुरुपयोग भएको बताएका छन् ।

पार्टीको जिल्ला अधिवेशनलाई भर्चुअल माध्यमबाट उद्घाटन गर्दै उनले संसदीय संघर्षको मैदानमा एमालेमाथि गर्न सक्ने हानिकारक प्रहारको अन्तिम किस्ता नै यो राष्ट्रियसभाको निर्वाचन हुने बताए ।

माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनको परिणाम एमालेका लागि अलि प्रतिकूल आउन सक्ने भन्दै उनले त्यो आजको जनमत र आजको यथार्थ नहुने पनि बताए । “साढे ४ वर्षअघि जनमत ल्याउँदा विभिन्न पक्षलाई सन्तुलन मिलाएर, विभिन्न प्रकारका व्यवस्थापनका नाममा त्यसलाई सम्बोधन गर्ने नाउँमा सिट बाँडेका थियौँ,” उनले भने ।

ओलीले यो चुनावबाट हिजोको जनादेशबाट हुन लागेकाले यसबाट नआत्तिन कार्यकर्तालाई आग्रह गरे । “२ जना मान्छे तलमाथि पार्दा हाम्रो मान्छे हार्छ,” ओलीले भने,“तर, अहिले पनि हामी अरु पार्टीभन्दा एक्लै मजबुत छौँ । हिजोको जनमत दुरुपयोग गरेर राष्ट्रियसभाको परिणाम आउन सक्छ ।”

ओलीले राष्ट्रियसभाको निर्वाचन एमालेमाथिको अन्तिम प्रहार हुने समेत बताए । “सकरात्मक परिणाम आएन भनेर कुनै अन्यथा मान्नुपर्ने कारण छैन, किनभने यो पहिलेको जनमत हो,” उनले भने,“एमालेमाथि प्रहारको अन्तिम किस्ता हो ।”

एमालेको ६१ जिल्लाको अधिवेशन उद्घाटन गर्दै ओलीले नेतृत्व चयनमा सकेसम्म सहमति जुटाउन जोड दिए । सहमतिका आधारमा नेतृत्व चयन हुनै नसक्ने अवस्थामा मात्रै स्वास्थ प्रतिस्पर्धामा जान आग्रह गरे ।

“निर्वाचनको विधिबाट अगाडि बढ्ने नीति पनि हामीले अख्तियार गरेका छौँ । सकेसम्म समझदारी, सहमतिमार्फत् एकतावद्ध भएर मन नखुम्च्याइ अगाडि बढ्न आग्रह गर्दछु,” उनले भने,“त्यस्तो भएन भने स्वस्थ प्रतिस्पर्धामा जान आग्रह गर्दछु ।”

उनले उज्याला सम्भावना साकार पार्ने कुरामा कार्यकर्ता र पार्टी सदस्य पंक्तिको एकता आवश्यक रहेको छ । यतिबेला नेता कार्यकर्तामा समझदारी, धैर्यता र संयम जरुरी रहेको उनको भनाइ छ ।

जो जति कमजोर छ, त्यसैले नै उत्तिकै चर्को स्वरमा यो गठबन्धन चुनावसम्म जानुपर्छ भनेर कराइरहेको उनले बताए । “एमालेलाई गठबन्धन चाहिएको छैन,” उनले भने,“एक्लै चुनौती सामना गर्न सक्छ । देशका लागि खटेको, जनताका लागि काम गरेको विकासप्रेमी, शान्तिप्रेमी पार्टी हो । जनताको पार्टी हो, जनताबाट कसैले अलग गर्न सक्दैन ।”