१२ बैशाख २०८१, बुधबार

कुन पार्टीको अवस्था कस्तो राष्ट्रियसभा निर्वाचनमा ?

all party

राष्ट्रियसभाका लागि १९ सीटमा ४३ जनाको उम्मेदवारी परेको छ । सातै प्रदेशमा सत्तारुढ पाँच दलीय गठबन्धन र प्रमुख प्रतिपक्षी दल एमालेबीच प्रतिष्पर्धा हुने निश्चित भएको छ । प्रदेश सांसद र स्थानीय तहका प्रमुख–उपप्रमुख मतदाता हुने राष्ट्रियसभा निर्वाचनमा गठबन्धन नै बलियो देखिएको छ ।

राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश सांसद र स्थानीय तहका प्रमुख–उपप्रमुख मतदाता हुन्छन् । एक सांसद बराबर ४८ मतभार रहँदा स्थानीय तहका प्रमुख–उपप्रमुखको एक जनाको मतभार १८ हुन्छ । राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन र एमालेबीच मुख्य प्रतिष्पर्धा हुने भएको छ । समग्र मतभार हेर्दा गठबन्धन बलियो देखिएको छ ।

प्रदेश १
प्रदेश १ मा कूल ३ सय ६४ मतदाता छन् । उनीहरुको मतभार ९ हजार ३ सय १२ रहन्छ । प्रदेश १ मा ९२ प्रदेश सांसदको मतभार ४ हजार ४ सय १६ मतभार रहन्छ । त्यहाँको स्थानीय तहमा २ सय ७२ मतदाताको मतभार ४ हजार ८ सय ९६ पुग्छ । सत्तारुढ गठबन्धनको पक्षमा ५१ सांसद र १ सय २६ प्रमुख तथा उप्रमुख छन् ।

उनीहरुको ४ हजार ६ सय ६८ मतभार हुन्छ । त्यसमा संयुक्त राष्ट्रिय लोकतान्त्रिक मञ्चका एक सांसद पनि जोडिदा उसको ४८ मत थपिन्छ । एमालेको ४१ सांसद र १ सय ४२ प्रमुख तथा उपप्रमुख छन् । उनीहरुको मतभार ४ हजार ५ सय २४ मतभार रहेको छ । राप्रपाले छुट्टै उम्मेदवारी दिएकाले गठबन्धनले जित्ने करिब–करिब निश्चित छ ।

प्रदेश २
प्रदेश २ मा पनि सत्तारुढ गठबन्धन नै अगाडि देखिएको छ । गठबन्धन दलहरुको मतभार ७ हजार ३ सय २ छ । एमालेको ९ सय ४२ मतभार मात्र रहेको छ । यहाँ जसपाबाट फुटेको लोकतान्त्रिक समाजवादी पार्टीको १ हजार ५ सय ६० मतभार रहेको छ । यहाँ गठबन्धनका उम्मेदवारले जित्ने निश्चित प्रायः छ ।

बागमती प्रदेश
बागमती प्रदेशमा पनि पाँच दलीय गठबन्धन बलियो देखिएको छ । यो प्रदेशमा कूल १ सय ९ सांसद छन् । उनीहरुको मतभार ५ हजार २ सय ३२ हुन्छ । एमालेको ४३, माओवादी केन्द्रको २३, कांग्रेसको २२, एकीकृत समाजवादीको १४ विवेकशील साझाको ३, राप्रपाको २, नेपाल मजदूर किसान पार्टीको २ सिट छ ।

एमालेको ४३ सांसद हुँदा उसको प्रदेश सांसदको मतभार २ हजार ६४ हुन्छ । उता, गठबन्धन पाँच दलमध्ये कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीको मतभार २ हजार ८ सय ३२ हुन आउँछ । स्थानीय तहमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख २ सय ३७ जना छन्। उनीहरुको मतभार ४ हजार २ सय ६६ हुन्छ । यहाँ पनि गठबन्धन दलहरु नै बलियो रहेका छन् । त्यसैले एमालेलाई राष्ट्रियसभा निर्वाचन जित्न मुस्किल छ । यहाँ नेमकिपाले पनि अलगै उम्मेदवारी दिएको छ ।

गण्डकी प्रदेश
गण्डकी प्रदेशसभामा २७ सांसद रहेको एमालेको १ हजार २ सय ९६ मतभार छ । १५ सांसद रहेको कांग्रेससंग ७ सय २० मतभार छ भने १२ सांसद रहेको माओवादीसँग ५ सय ७६ मत रहेको छ । त्यसैगरी जनमोर्चा र जनता समाजवादीसँग ९६–९६ मत छ ।

स्थानीय तहतर्फ कांग्रेसका ८३ जनप्रतिनिधिको तर्फबाट १ हजार ४ सय १८ मतभार छ । त्यस्तै एमालेका ७० जना जनप्रतिनिधिको १ हजार २ सय ६० मत छ । माओवादीका १२ जना जनप्रतिनिधिको २ सय १६ मत छ । गण्डकीमा जनमोर्चाका ३ जनप्रतिनिधिको ५४ र राप्रपाका २ जनप्रतिनिधिको ३६ मत छ ।

गण्डकीमा एकल हिसाबमा सवै भन्दा धेरै एमालेसँग २ हजार ५ सय ५६ मतभार छ । कांग्रेससँग २ हजार १ सय ३८, माओवादीसँग ७ सय ९२ छ । गण्डकीमा एमाले एक्लै चुनावी मैदानमा उत्रिएको छ । कांग्रेस, माओवादी र समाजवादी लगायतका दलका तर्फबाट गठबन्धन बनाएकाले उनीहरुको तर्फबाट ३ हजार १ सय ७६ मतभार हुने भएकाले गठबन्धनले चुनाब जित्ने निश्चित छ ।

लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशका ८१ प्रदेशसभा सदस्यमध्ये एमालेका ३७, माओवादीका १९, कांग्रेसका १९, जसपाका ४, एकीकृत समाजवादीका १ र जनमोर्चाका १ छन्। प्रदेश सभा सदस्यको संख्याअनुसार लुम्बिनीमा एमाले भन्दा गठबन्धनको मतभार ३ सय ९६ बढी छ।

लुम्बिनीमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख २ सय १५ जना छन्। जसअनुसार लुम्बिनीमा ७ हजार ७ सय ५८ मतभार देखिन्छ। यहाँ पनि गठबन्धन नै बलियो रहेको छ ।

कर्णाली प्रदेश
राष्ट्रिय सभा सदस्य पदका लागि कर्णाली प्रदेशमा गठबन्धन र नेकपा एमालेले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन् । तीन पदका लागि दुवै पक्षबाट ६ जनाले आज उम्मेदवारी दर्ता गराएका हुन् । कर्णाली प्रदेशमा ३५ प्रदेशसभा सदस्य छन्। जसमा एमालेका १३, माओवादीका १२, कांग्रेसका ६, एकीकृत समाजवादीका ३ र राप्रपाका १ जना सांसद छन्।

कर्णालीमा पनि प्रदेश सभा सदस्यको संख्यालाई आधार मान्दा एमालेको मतभार ६ सय २४ हुन आउँछ। कर्णालीमा गठबन्धनको मतभार १ हजार ८ छ। जुन एमालेभन्दा ३ सय ८४ ले बढी हो। कर्णालीमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख १ सय ५६ जना छन्। जसअनुसार कर्णालीमा कुल मतभार ४४ सय ८८ हुन आउँछ।

सुदूरपश्चिम प्रदेश
राष्ट्रियसभा निर्वाचनमा कांग्रेस, माओवादी र समाजवादी पार्टी मिल्दा सुदूरपश्चिममा नेकपा एमाले कमजोर देखिएको छ। सत्तारुढ दल मिल्दा एमालेलाई सुदूरपश्चिममा शाख जोगाउन चुनौति छ।

सुदूरपश्चिममा स्थानीय तहका प्रमुख उपप्रमुख १ सय ७५ र प्रदेश सभा सांसद ५२ जना छन्। स्थानीय तहका प्रमुख उपप्रमुखको मतभार १८ र प्रदेश सभा सदस्यको मतभार ४८ हुने प्रावधान छ।

नेपाली कांग्रेसको कुल मतभार १ हजार ९ सय ८, नेकपा एमालेको १ हजार ८ सय ६, माओवादी केन्द्र ९ सय ३०, एकीकृत समाजवादी ९ सय ६ तथा जसपा र लोसपाको ४८–४८ मतभार छ। यस्तै, प्रदेश सभामा सबैभन्दा ठूलो दल रहेको एकीकृत समाजवादीका १४ सांसद र १३ स्थानीय तहका प्रमुख उपप्रमुख छन्। उनीहरुको मतभार क्रमशः ६ सय ७२ र २ सय ३४ हुन्छ। यहाँ पनि सत्तारुढ गठबन्धन नै बलियो देखिएको छ ।