१२ बैशाख २०८१, बुधबार

सभापति देउवालाई कोइरालाले सोधे–केन्द्रीय सदस्य मनोनयनको मापदण्ड के हो ?

dr shekhar koirala
फाइल फोटो

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कुन मापदण्डको आधारमा पार्टीको केन्द्रीय सदस्यहरु मनोनित गरिएको हो भनि सभापति शेरबहादुर देउवालाई प्रश्न गर्नुभएको छ ।

आज नेता कोइरालाले काठमाडौंमा पार्टीको १४ औँ महाधिवेशनमा आफ्नो समूहबाट निर्वाचन लडेका नेताहरुको बैठकलाई सम्बोधन गर्दै केन्द्रीय सदस्यहरुलाई के मापदण्ड अपनाएर नियुक्त गरिएको हो ? सो कुरा जान्न चाहेको भनि सभापति देउवालाई प्रश्न गर्नुभएको हो ।

उहाँले पार्टीमा न्यायोचित अवसरको वितरण र व्यवस्थापन हुनुपर्ने बताउनुभयो । उहाँले पार्टी सभापतिलाई मन पर्ने र मन नपर्ने आधारमा व्यक्तिको छनौट भएमा दुर्घटना निम्तिन सक्ने चेतावनी समेत दिनुभयो ।

उहाँले भन्नुभयो – ‘पार्टीमा सभापतिज्यूले केही साथीहरुलाई केन्द्रीय सदस्यमा नियुक्ति गर्नुभएको छ । नियुक्ति पाउनुभएका सबै साथीहरु सक्षम र योग्य नै हुनुहुन्छ । तर के मापदण्ड अपनाएर उहाँहरु नियुक्त हुनुभएको हो ? हामी जान्न चाहन्छौँ । पार्टीमा न्यायोचित अवसरको वितरण र व्यवस्थापन हुन जरुरी छ । नभए कार्यकर्ता किन कांग्रेसमा बस्ने भनि प्रश्न उठ्न सक्छ । सभापतिको लाइक र डिस्लाइकबाट व्यक्तिको छनौट भए पार्टीमा दुर्घटना हुन सक्छ । विधि र विधान बाहिर गएर गरिने सबै कामहरु बन्द गर्न हामी एकढिक्का भएर प्रयत्न गर्न जरुरी छ भन्ने मलाइ लाग्छ ।’

उहाँले पार्टीका निष्ठावान, इमान्दार र त्यागी नेता, कार्यकर्ताहरुलाई पाखा लगाउने कामका विरुद्ध आवाज उठाउनुपर्ने बताउनुभयो । पार्टी नेतृत्वको गतिविधि र निर्णयले कांग्रेस संगठनमा निराशा पैदा भए आगामी निर्वाचनहरु असहज हुन सक्ने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘हाम्रो महाधिवेशन भर्खर सम्पन्न भएको छ । अहिले पार्टी संगठनभित्र कुटुता, विभाजन र असहयोगी भावना हामी कसैमा आउनु हुँदैन तर यति भनिरहँदा पार्टीमा काम गर्ने निष्ठावान, इमान्दार, त्यागी र सक्षम नेता कार्यकर्ताहरुलाई नियोजित किसिमले पाखा लगाउने कामकाविरुद्ध हामीले डटेर आवाज उठाउनुपर्छ । हामी लोकतन्त्रवादीहरु राजनीतिक खेल एउटा नियम संगत रुपमा अगाडी बढोस् भन्ने चाहन्छौँ । सबै कांग्रेसजन एउटै परिवारका सदस्य हौँ भन्ने भावना नेतृत्वबाट निर्णय गर्दा देखिनुपर्छ । पार्टी नेतृत्वको गतिविधिले र निर्णयले कांग्रेस संगठनमा निराशा पैदा भए अगाडीका निर्वाचनहरु हाम्रा लागि असहज हुन सक्छन् । हाम्रो निर्णय प्रक्रियाले पार्टीमा उर्जाको सञ्चार गर्न नसके कांग्रेस शिथिल हुन सक्छ ।’

नेता कोइरालाले आगामी तीन वटै तहको निर्वाचनमा नेपाली कांग्रेस एक्लै लड्ने बताउनुभयो । कांग्रेसलाई एक्लै लडेर विजयी बनाउने उहाँले बताउनुभयो । पार्टीलाई एक नम्बरको पार्टी बनाउन र कांग्रेस एकता र रुपान्तरणको सन्देश बोकेर जनताको विचमा जाने पनि उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘अब आउने तिनवटा निर्वाचन हामीहरुको सम्मुख छ । नेपाली कांग्रेस एक्लै लड्छ र हामी विजय प्राप्त गर्छौ भन्नेकुरा पनि तपाईहरुको माझमा म भन्न चाहन्छु । कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन हामी देशभरका साथीहरु सामु जानेछौँ । कांग्रेस एकताको सन्देश र रुपान्तरणको सन्देश बोकेर नेपाली जनताको विश्वास र भरोसाको कांग्रेस निर्माणको अभियानमा जानेछौँ ।’

उहाँले आफ्नो समूह पार्टीको निर्णय गर्ने ठाउँमा प्रभावकारी हुन नसकेपनि पार्टीभित्र हुने सबै कार्यहरु न्यायसंगत, विधि र विधानसम्मत, विवेकपूर्ण र व्यवहारिक तरिकाबाट निर्णय गराउन आवाज उठाउने बताउनुभयो ।

काठमाडौंस्थित होटल बसेरामा नेता कोइराला पक्षका नेताहरुको बैठक बसिरहेको छ । बैठकमा पार्टीको १४ औँ महाधिवेशनको समीक्षा गर्नुका साथै आगामी कार्यदिशाको सम्बन्धमा छलफल हुने नेता कोइरालाले जानकारी दिनुभयो ।