७ बैशाख २०८१, शुक्रबार

मसालको महामन्त्रीबाट नेतृत्व यात्रा सुरु गरेका प्रचण्ड यस्ता छन् आगामी चुनौती

sthai kamiti baithak maoist scaled
फाइल फोटो

आठौं महाधिवेशनबाट नेकपा माओवादी केन्द्रको नेतृत्वमा पुनः पुष्पकमल दाहाल प्रचण्ड आउनुभएको छ । विक्रम संवत् २०४६ सालमा नेकपा मसालको महामन्त्रीबाट नेतृत्व यात्रा सुरु गरेका प्रचण्ड २०५७ सालबाट निरन्तर माओवादीको अध्यक्ष हुनुहुन्छ ।

उहाँकै नेतृत्वमा माओवादी सशस्त्र संघर्षमा उत्रियो । शान्तिप्रक्रियामा आएसँगै निरन्तर ओरालो लागेको माओवादी राजनीतिक यात्रामा प्रचण्ड खासै सफल नेता बन्न सक्नुभएन । तर, अस्थिर राजनीतिको फाइदा उठाउन माहिर प्रचण्डका लागि आगामी दिन त्यति सहज छैन ।

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनले पुनः प्रचण्डलाई अध्यक्ष चयन गरेको छ । १० वर्षे सशस्त्र युद्ध र दोस्रो जनआन्दोलनमा अप्रत्यक्ष भूमिका निर्वाह गरेको श्रेयपनि उहाँलाई जान्छ ।

जनआन्दोलनपछि भएको संविधानसभा निर्वाचनमा पहिलो दल बनेको माओवादीलाई नेतृत्व गरेका प्रचण्ड त्यसबेला पहिलो पटक प्रधानमन्त्री पनि बन्नुभयो । त्यसपछि माओवादीमा आएको विभाजनले उहाँको नेतृत्व क्षमतामा प्रश्न उठाउनु अस्वभाविक होइन, अस्थिर राजनीतिक चरित्र बोकेको आरोप पनि उहाँलाई लाग्ने गरेको छ । फुटको आरोह–अवरोह बोकेको माओवादीलाई प्रतिष्पर्धामा उतार्न प्रचण्डका लागि आगामी पाँच वर्षमा चुनौतिका पहाड नै छन् ।

पदाधिकारी चयनमै सकस
आठौं महाधिवेशनबाट निर्विकल्प अध्यक्ष दोहोरिएका प्रचण्डलाई पदाधिकारी चयनको क्रममै सकस देखिएको छ । १५ पदाधिकारी चयनको तयारीमा रहेको माओवादीमा नेतृत्वका लागि हानाथाप भएको छ । आंकाक्षीहरु धेरै देखिएपछि पदाधिकारीको व्यवस्थापन गर्न प्रचण्डलाई सास्ती हुने देखिन्छ । पार्टीलाई योगदान दिने र समावेशी नेतृत्व चयनका लागि टाउको दुखाई बन्दै गएको छ ।

गठबन्धन टिकाउनु पर्ने चुनौती
अस्थिर चरित्रका प्रचण्ड राजनीतिक जोडघटाउमा माहिर मानिनुहुन्छ । चुनावताका रातारात केपी शर्मा ओलीसँग एकताको हात बढाएका प्रचण्ड नेकपाको नेतृत्वमा रहन चाहनुहुन्थ्यो । तर, सत्ता स्वार्थमा कुरा नमिल्दा माओवादी ओली नेतृत्वको सरकार हटाउन कांग्रेससहितका दलहरुसँग हात बढाउन पुग्यो ।

आगामी चुनावमा आफ्नो पकड कायम राख्ने लालसा बोकेका प्रचण्डले सत्तारुढ गठबन्धनलाई कायमै राख्नुपर्ने मनस्थितिमा हुनुहुन्छ । एमालेका अध्यक्ष ओलीलाई बालुवाटारबाट बालकोट पु¥याउने प्रचण्ड यति बेला गठबन्धनलाई निरन्तरता दिनैपर्ने चुनौतीमा हुनुहुन्छ । तर, कांग्रेसभित्र गठबन्धन आगामी चुनावसम्म कायमै राख्ने मत कमजोर बनेको छ । यो चुनौती पार गर्न प्रचण्डका लागि अग्नि परीक्षा सरह मानिएको छ ।

आगामी निर्वाचनको लक्ष्य
सशस्त्र युद्धदेखि संसदीय अभ्यासमा आएका प्रचण्डलाई अबको निर्वाचनमा माओवादीलाई बलियो बनाउन ठूलै रस्साकस्सी गर्नुपर्ने हुन्छ । फुटको श्रृंखला व्यहोरेको माओवादीको जनमतलाई जोगाई राख्न प्रचण्डले जोखिम मोल्नै पर्ने हुन्छ । गठबन्धन गरेर अगाडी नबढ्ने हो भने आगामी निर्वाचनमा माओवादी केही सिटमा सिमित हुन सक्ने आकल भइरहेको छ ।

प्रचण्डलाई फेरि साथ छोड्ने बढ्न सक्छन्
प्रचण्डको नेतृत्वकालमा धेरैले उहाँको साथ छोड्दै गएका छन । युद्धमासाथ दिएका बाबुराम भट्टराई, रामबहादुर थापा, मोहन बैद्य, नेत्रबिक्रम चन्दहरु अहिले साथमा छैनन् । आठौ महाधिवेशनमा पनि प्रचण्डको प्रतिवेदनमाथि फरक मत देखि पुरक प्रतिवेदन समेत पेश भए । केन्द्रीय सदस्यमा पनि टिके प्रथाबाट मनोनय देखि आफनालाई काँखी चापेकाले माओवादीमा असन्तुष्टि पोख्ने नेताहरु खडा भएका छन ।

जनताको मन जित्नुपर्ने चुनौती
जसरी सशस्त्र युद्ध सुरुदेखि शान्ति प्रत्रियामा आउँदा बैकल्पिक शक्तिको रुपमा माओवादी पार्टी बनेको थियो । तर बिस्तारै माओवादीमा देखिएको नव सामन्तवाद र सत्ता लिप्सामा रुमलियो । जसको कारण सबै भन्दा ठुलो दलको हौसियत देखि माओवादी सत्तामासम्म पुगेको थियो । सत्ता कहिले नछाड्ने आरोप लागेका प्रचण्ड आफ्नै कार्यकर्ताबाट तिरस्कृत हुँदै जानुभएको छ । जनताको होसियत झन तल खस्किएको छ भने नेताहरु रातारात नव धनाड्य बनेका छन । त्यसैले अब प्रचण्डको सामु बिगतका गल्तिलाई सच्चाउदै जनताको मन जित्न धेरै कठिन हुने देखिन्छ ।