८ बैशाख २०८१, शनिबार

देशको लागि सँधै खेल्नेछु : ज्ञानेन्द्र मल्ल

gyanendra malla

नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले आफु देशको लागि क्रिकेट खेल्न सँधै तयार भएको बताउनु भएको छ । टियु मैदान कीर्तिपुरमा मंगलबारदेखि प्रशिक्षण क्याम्पमा सहभागी हुनुभएका मल्लले सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल क्रिकेट संघ (क्यान) ले आफुलाई जानकारी नदिई कप्तानबाट हटाउँदा भने दुःख लागेको पनि बताउनुभयो ।

‘म सँधै कप्तान बन्छु भनेर क्रिकेटमा आएको होइन । तर मैले धेरै बर्ष क्रिकेटलाई दिएको छु । बिभिन्न कारण निकालेर हटाउँदा दुःख लागेको छ । यसले मलाई ब्यक्तिगत रुपमा पनि गाह्रो भयो । कप्तानको हिसावले खेलाडीको समस्या सम्बोधन हुनुप¥यो भन्दा विभिन्न आरोप लगाईयो । आत्मसम्मानको कुराले गर्दा मलाई थप अप्ठ्यारो परेको थियो,’ मल्लले भन्नुभयो ।

उहाँले आफु कहिल्यै क्यान बोर्डको विरुद्धमा नलागेको पनि बताउनुभयो । ‘बोर्डलाई निच देखाउने काम गरेका छैनौँ । त्यस्तो गर्ने भए अरु बाटो अपनाउँथ्यौँ । सायद खेल्दैनथ्यौँ होला । यत्रो बर्ष केही नपाउँदा खेल्यौँ । अहिले त सम्मानजनक अवस्था छ । उही सेवा सुविधा बढाउनुप¥यो भनेका त हौँ,’ मल्लले भन्नुभयो ।

मल्लले खेलाडी वर्गीकरणकै कारण क्यान र खेलाडीबीच समस्या उत्पन्न भएको पनि बताउनुभयो । उहाँले टिमका खेलाडीबीच कुनै पनि मनमुटाव नभएको भन्दै एक जुट भएर देशका लागि खेल्ने प्रतिबद्धता पनि जनाउनुभएको छ ।

क्यानको हालै बसेको बोर्ड बैठकले मल्ललाई कप्तान र दीपेन्द्रसिंह ऐरीलाई उपकप्तानबाट हटाएर सन्दीप लामिछानेलाई कप्नानमा नियुक्त गरेको थियो । क्यानले मल्लसहित चार खेलाडीलाई सन् २०२२ को सुरुवाती ६ महिना सेन्ट्रल कन्ट्रयाक्टमा नराख्ने निर्णय समेत गरेको थियो ।

आइतबार असन्तुष्ट खेलाडी र क्यानबीच सहमति भएपछि मल्ललगायत खेलाडी टी–२० विश्वकप ग्लोबल छनोटको तयारीका लागि बन्द प्रशिक्षणमा जुटेका छन । मंगलबारबाट प्रशिक्षक पुबुदु दसानायके र क्यान छनोट समितिले प्रारम्भिक छनोटमा बोलाएका सबै खेलाडी बन्द प्रशिक्षणमा सामेल भएका छन् ।