१६ चैत्र २०८०, शुक्रबार

डीडीसीमा दूधको अभाव

ddc

सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी)मा दूधको अभाव भएको छ । यो समय दूध बढी उत्पादन हुने (फल्स सिजन) समयमा भएकाले विगत वर्षमा ‘मिल्क होलिडे’ हुन्थ्यो । विगतमा यो समयमा दूध ‘कन्भर्जन’ (अन्य दुग्ध पदार्थमा परिवर्तन) गरेर राखिन्थ्यो तर यसपालि दूध अभावको समस्या झेलिरहेको छ ।

विगतका वर्षहरूको यो समयमा दैनिक एक लाख ७० हजारदेखि ८० हजार लिटर दूध सङ्कलन गर्ने डीडीसी अहिले एक लाख २० हजारदेखि ३० हजार लिटरमा झरेको छ । डीडीसीको दूध दैनिक ९० हजारदेखि एक लाख लिटर खपत हुन्छ भने बाँकी दूधलाई एसएमपी (धुलो दूध) बनाउने गरिएको थियो । बढी भएको दूधलाई धुलो दूध बनाएर राखेपछि सुक्खा (लिन सिजन)मा प्रयोग गर्ने गरिएकोमा अहिले दैनिक माग पूरा भए पनि एसएमपी बनाउन दूधको अभाव भएको छ ।

डीडीसीका निमित्त उपमहाप्रबन्धक तथा सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीका अनुसार पहिला दैनिक ७० देखि ८० हजार लिटर दूध दैनिक कन्भर्जन हुन्थ्यो । त्यसबाट करिब नौ हजार केजी एसएमपी (धुलो दूध) हुन्थ्यो । अहिले दैनिक २० देखि २५ हजार लिटर कन्भर्जन गराउँदा तीन हजार केजीसम्म धुलो दूध बन्छ । दही र आइसक्रिमका लागि वार्षिक करिब नौ लाख केजी धुलो दूध चाहिन्छ । दूध अभावको अहिलेकै अवस्था रहने हो भने सुक्खा सिजनमा दुग्ध पदार्थको हाहाकार हुने अधिकारीले बताउनुभयो ।

अहिले तयार हुने धुलो दूधले दही र आइसक्रिमलाई पनि नपुग्ने भएकाले सुक्खा सिजनका लागि मौज्दात राख्न डीडीसीलाई समस्या परेको हो । यसअघि सुक्खा मौसमका लागि कम्तीमा १० देखि ११ लाख केजी धुलो दूध डीडीसीसँग मौज्दात हुन्थ्यो । अहिले मौज्दात छँदै छैन । अहिले नै दूधको विकल्प खोजिएन भने अवस्था भयावह हुनसक्ने उपमहाप्रबन्धक अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “यसको समाधान कसरी गर्ने भन्नेबारे राष्ट्रिय दुग्ध विकास बोर्डमा छलफल हुन लागेको हो । आशा गरौँ केही निकास निस्किन्छ । ”

असोजदेखि माघसम्म दूध बढी उत्पादन हुन्छ भने फागुनदेखि भदौसम्म कम उत्पादन हुन्छ । कम उत्पादन हुने समयका लागि डेरी उद्योगले असोजदेखि माघसम्म बढी हुने दूधबाट धुलो दूध बनाएर राख्छन् तर यसपटक सरकारी र निजी क्षेत्रमा दूधको अभाव देखिएको छ । निजी क्षेत्रका डेरी उद्योगीले भारतबाट दैनिक एक लाख लिटर दूध आयात गर्न पाउनुपर्छ भनि कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा निवेदन पनि दिएका छन् तर डीडीसीको व्यवस्थापन यो मामिलामा मौन छ ।

डीडीसीका एक जना कर्मचारीले भन्नुभयो, “अहिले धुलो दूध बनाएर राख्न सकिएन भने फागुनपछि डीडीसीलाई सञ्चालन गर्न गाह्रो हुन्छ । अहिले नै दूधको अवस्था यस्तो छ भने फागुनदेखि त झन भयावह अवस्था हुन्छ । त्यसैले फागुनपछि डीडीसी सञ्चालन गर्नका लागि अहिलेदेखि नै जोहो गर्नुपर्छ तर त्यसमा व्यवस्थापन मौन देखिएको छ । ”

कोरोना महामारीको असर पशुपालनमा परेका कारण दूध उत्पादनमा कमी आएको डीडीसीका अधिकारी बताउँछन् भने पशु सेवा विभागका प्रवक्ता डा. चन्द्र ढकालले दूध उत्पादनमा कुनै कमी नआएको बताउनुभयो । डा. ढकालले भन्नुभयो, “हाम्रो तथ्याङ्कअनुसार दूध उत्पादनमा कुनै कमी छैन । बरु उद्योगी दूध लिनका लागि किसान कहाँ जाँदैन । ” चितवन, पोखरा, जनकपुरतिर मात्र दूध नखोजेर हिमाल, पहाड पनि दूधका लागि जानुपर्ने उहाँको सुझाव छ ।