१६ चैत्र २०८०, शुक्रबार

राष्ट्रिय सभा निर्वाचनका लागि २०२५ जना मतदाताको नामावली प्रकाशन, मंगलवार उम्मेदवारी दर्ता

Election Commission Nepal

निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको मतदाताको नामावली प्रकाशन गरेको छ ।

राष्ट्रिय सभामा रिक्त सदस्य पदका लागि माघ १२ गते हुने निर्वाचनका लागि मतदाताको नामावली शनिवार प्रकाशन गरेको हो ।

निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन्। निर्वाचन आयोगका अनुसार देशभरबाट दुई हजार २५ जना मतदाताले राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिनेछन्।

मतदाताको नामावली आयोगको वेबसाइटबाट प्रकाशन भइसकेको छ। शनिबार मतदाता नामावली प्रकाशन गर्दै दाबी विरोधका लागि आह्वान गरिएको छ ।

मतदाताको अन्तिम नामावली सोमबार प्रकाशित हुने आयोगले जनाएको छ।

आयोगका अनुसार मंगलबार उम्मेदवारी दर्ताको कार्यक्रम छ। आयोगले सातै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालयसमेत स्थापना गरिसकेको छ।

आयोगले दिएको जानकारीअनुसार प्रदेश १ मा २६४, प्रदेश २ मा ३७२, बागमतीमा ३४६, गण्डकीमा २२९, लुम्बिनीमा २९६, कर्णालीमा १९१ र सुदूरपश्चिम २२७ जना मतदाता रहेका छन्।

सत्तारूढ गठबन्धनले रिक्त १९ राष्ट्रिय सभा सदस्यमा भागबन्डा गरेर उम्मेदवार तय गर्ने तयारी गरेका छन्।

यसका लागि गठबन्धनले पार्टीहरूका शीर्ष नेताहरू रहेको समन्वय समिति समेत गठन गरेको थियो।