६ बैशाख २०८१, बिहीबार

दस जना मनोनीत नेपाली काँग्रेस केन्द्रीय सदस्यमा

congress

नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले १० जना प्रभावशाली नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गर्नुभएको छ । काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले पार्टीको विधान–२०१७ (संशोधनसहित)को धारा २१ को उपधारा (१०) बमोजिम १० नेतालाई केन्द्रीय सदस्य पदमा मनोनीत गर्नुभएको हो ।

यसअघि वरिष्ठ नेता रहनुभएका रामचन्द्र पौडेललाई सभापति देउवाले केन्द्रीय सदस्यमा मनोनयन गर्नुभएको छ । पार्टीको १३औँ महाधिवेशनमा सभापति पदमा पराजित नेता पौडेलले १४औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने तयारी गर्नुभएको थियो । तर, पौडेल समूहबाट डा. शेखर कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह सभापति पदका उम्मेदवार भएपछि उहाँले उम्मेदवारी दिनुभएन । साथै, निर्वाचन प्रक्रियामा पनि उहाँले भाग लिनुभएको थिएन ।

पूर्वउपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदारलाई पनि सभापति देउवाले केन्द्रीय सदस्यमा मनोनीत गर्नुभएको छ । निधिले १४औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिनुभएको थियो । तर, पहिलो चरणको प्रतिस्पर्धाबाटै बाहिरिएपछि उहाँले दोस्रो चरणमा सभापतिमा देउवालाई सहयोग गर्नुभएको थियो । गच्छदारले उपसभापति पदमा उम्मेदवारी दिनुभएको थियो । उपसभापतिमा दोस्रो सर्वाधिक मतसहित निर्वाचित हुनुभएका धनराज गुरुङसँग दुई मतले उहाँ पराजित हुनुभयो ।

पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालाई पनि केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरिएको छ । १४औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिनुभएका नेता सिंह पहिलो चरणबाट बाहिरिएपछि सभापति पदमा देउवालाई समर्थन गर्नुभएको थियो ।

उपसभापति पदकी उम्मेदवार सुजाता कोइरालालाई सभापति देउवाले केन्द्रीय सदस्यमा मनोनयन गर्नुभएको छ । नेतृ कोइरालाले पूर्वमहामन्त्री सिंहको समूहबाट उपसभापति पदमा उम्मेदवारी दिनुभएको थियो ।

त्यसैगरी, पूर्वसहमहामन्त्री डा. प्रकाशशरण महत र परराष्ट्रमन्त्रीसमेत रहनुभएका डा. नारायण खड्कालाई देउवाले केन्द्रीय सदस्यमा मनोनयन गर्नुभएको छ । महामन्त्री पदमा उम्मेदवारी दिनुभएका महत पराजित हुनुभएको थियो ।

पदाधिकारीमा उम्मेदवारी दिने तयारी गर्नुभएका खड्काले अन्तिम समयमा उम्मेदवारी दिनुभएन । त्यसैगरी, देउवाले १४औँ महाधिवेशनमा उमा रेग्मी र नेता मीनबहादुर विश्वकर्मालाई पनि केन्द्रीय कार्यसमिति सदस्य पदमा मनोनयन गर्नुभएको छ । रेग्मी उम्मेदवार हुनुहुन्नथ्यो भने पूर्वकेन्द्रीय सदस्य विश्वकर्माले यस पटक केन्द्रीय सदस्यको उम्मेदवारी फिर्ता लिनुभएको थियो ।

नेपाली काँग्रेसको विधानअनुसार ३३ जना केन्द्रीय सदस्य मनोनीत हुन्छन् । कुल १६७ केन्द्रीय सदस्यमध्ये विभिन्न समूहबाट १२१ जना निर्वाचित भइसक्नुभएको छ । नेपाली काँग्रेसको कोषाध्यक्षमा केन्द्रीय सदस्यमध्येबाट एक जनालाई सभापतिको प्रस्तावमा केन्द्रीय कार्यसमितिको बैठकबाट मनोनीत हुनेछ ।

हाल सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री गरी १३ जना पदाधिकारी निर्वाचित हुनुहुन्छ । कोषाध्यक्ष पनि पदाधिकारी नै रहने व्यवस्था छ । त्यस्तै, केन्द्रीय सदस्यमध्येबाटै पदाधिकारीको हैसियत रहनेगरी प्रवक्ता पनि सभापतिबाट मनोनयन हुनेछ ।

केन्द्रीय कार्यसमितिको बैठक तयारी

नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको दोस्रो बैठक तयारी गरिरहेको छ । मुख्यसचिव पौडेलले केन्द्रीय कार्यसमितिको बैठक बस्नेबारे शीर्षनेताबीच छलफल भइरहेको जानकारी दिनुभयो ।

पौडेलले भन्नुभयो, “बैठक बस्ने विषयमा शीर्षतहमा छलफल भइरहेको छ । चाँडै मिति सार्वजनिक हुन्छ ।” काँग्रेसको १४औँ महाधिवेशनपछि गत पुस १० गते केन्द्रीय कार्यसमितिको बैठक बसेको थियो ।

यसैबीच, राष्ट्रिय सभाका लागि पार्टीका तर्फबाट उम्मेदवार तय गर्ने विषयमा पनि पार्टी नेताबीच अनौपचारिक छलफल भइरहेको उहाँले बताउनुभयो । आगामी माघ १२ गते राष्ट्रिय सभाका १९ सदस्यका लागि निर्वाचन हुँदै छ । आजको गोरखापत्र दैनिकमा खवर छ ।