१४ बैशाख २०८१, शुक्रबार

जनता र देशको सेवा नगर्नेलाई पार्टीमा ठाउँ छैन : माधव नेपाल

61d057d47764e madhav nepal

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनता र देशको सेवामा नलाग्नेलाई पार्टीमा ठाउँ नरहेको बताउनुभएको छ । एकीकृत समाजवादी पार्टी जनता र देशको सेवा गर्ने पार्टी भएकाले जसले सेवा गर्दैन त्यो व्यक्ति पार्टीमा अट्न नसक्ने बताउनुभयो ।

नेपाल पार्टीको जिल्ला कमिटी लमजुङद्वारा शनिबार बेंसीसहरमा आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले लुटेरा, फटाहालाई पार्टीमा बस्ने अधिकार नभएको उल्लेख गर्नुभयो । समाजवादी पार्टी लुकेर, चुसेर, भ्रष्टचार गरेर खानको पार्टी नभई दुःख गरेर, इमान्दारितामा विश्वास गरेर काम गर्नेको भएको उहाँको भनाइ छ ।

नेता नेपालले पार्टीमा आवद्ध व्यक्तिले अनुशासन कायम राख्दै श्रम गरेर, पसिना बगाएर कमाई गर्ने बताउनुभयो । एकीकृत समाजवादी पार्टीले सिद्धान्त र मूल्य मान्यतामा विश्वास गर्ने, लोकतान्त्रिक मूल्य मान्यतालाई सम्मान गर्ने नेपालले बताउनुभयो ।

जनतालाई माया गर्ने, नयाँ पुस्तालाई माया गर्ने र पुराना पुस्तालाई सम्मान गर्ने, सबैको कल्याण गर्ने पार्टी रहेको उल्लेख गर्नुभयो । कम्युनिष्ट भनेको स्वाभिमानी, गलतलाई गलत भन्न सक्ने आँट भएको हुनुपर्ने उहाँको भनाइ छ ।

सेवाको भावना भएको, लोकतान्त्रिक शक्तिसँग हातेमालो गर्ने, सामाजिक परिवर्तन गर्ने, महिलालाई, बुढापाकालाई सम्मान गर्ने एकमात्र पार्टी एर्कीकृत समाजवादी रहेको उहाँको भनाइ छ ।

आधुनिक सीप, क्षमता र प्रविधिका साथमा सिर्जनात्मक काम गर्ने र अरुले गर्न नसकेको काम एकीकृत समाजवादीले गर्ने उहाँको भनाइ छ ।

युवालाई विदेश जान नपर्ने गरी रोजगार सिर्जना गर्ने, बाहिरका नागरिकलाई नेपालमा आउन पर्ने गरी काम गर्ने गरेर प्रविधिमैत्री वातावरणमैत्री अर्थतन्त्रको विकासका लागि पार्टीले ध्यान दिएको अध्यक्ष नेपालको भनाइ छ ।

केन्द्रीय कमिटी सदस्य एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा जाने युवाका लागि सहज वातावरण र व्यवस्थित बनाउने बताउनुभयो ।