१२ बैशाख २०८१, बुधबार

राजासँग के वीपीले आत्मसमर्पण गरेका हुन् ?

bp koirala

भारत निर्वासनमा रहेका वीपी कोइराला २०३३ साल पुस १६ गते स्वदेश फर्किएको दिनलाई नेपाली कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ । फाँसी नै हुनसक्ने ७ वटा मुद्दा भए पनि कोइराला त्यसलाई बेवास्ता गर्दै राजासँग मिल्ने नीति लिएर नेपाल फर्कनुभयो ।

नेपाल आउनुअघि उहाँले पटनामा देशवासीका नाममा अपिल प्रकाशित गरी नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता तथा राष्ट्रियता खतरामा रहेकाले राजा र प्रजातन्त्रवादीले संयुक्त रूपमा यसलाई मुकाविला गरी मुलुकलाई बचाउनुपर्ने बताउनुभएको थियो ।

पुस १६ नेपालको राजनीतिमा स्मरणीय मिति हो । जुन दिन वीपी कोइराला फाँसी हुनसक्ने अवस्था भए पनि राष्ट्रियता संकटमा परेको भन्दै त्यसलाई बचाउन देशभित्रैको शक्तिसँग मिल्नुपर्छ भन्ने मान्यता बोकेर नेपाल फर्किनुभयो ।

नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहेका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, नेता खुमबहादुर खड्का, रामबाबु प्रसाईँ, नीलाम्बर पन्थीलगायत नेता–कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवन त्यागेर स्वदेश फर्किएका थिए ।

त्रिभुवन विमानस्थलमा ओर्लिनेबित्तिकै कोइराला, गणेशमान सिंहलगायतलाई सुन्दरीजलमा बन्दी बनाइयो । उसो त कांग्रेसभित्र राजासँग मिल्न नहुने र राजाले पुनः धोका दिने भन्दै नेपाल नफर्कन वीपीमाथि ठुलो दबाब थियो । तर, वीपीले आफ्नो जीवन भन्दा राष्ट्रको जीवन महत्वपूर्ण रहेको भन्दै स्वदेश फर्कने निर्णयमा अडिग रहनुभयो ।

भारत निर्वासनमा रहँदा सिक्किम भारतमा विलय भएको घटना नजिकबाट हेरिरहेका कोइरालालगायत नेता देशको सार्वभौमसत्ता संरक्षणका लागि भन्दै नेपाल फर्कनुभयो ।

वीपीले यतिबेला राजासँग मेरो घाँटी जोडिएको भनेर दिएको अभिव्यक्ति नेपालको राजनीतिमा चर्चित छ । राष्ट्रमाथि देखा परेको सङ्कटको निराकरण राष्ट्रवादीहरू बीचको एकता मात्र हो भन्ने राष्ट्रिय एकता र मेलमिलापको सन्देश थियो ।

वीपीले राजासँग घाँटी जोडिएको छ भनेपछि कम्युनिष्टहरुले उहाँको चर्को विरोध पनि गरेका थिए । तर, वीपीले राजालाई राष्ट्रियता र आफूलाई प्रजातन्त्रका रुपमा व्याख्या गरेपनि त्यसलाई नबुझ्नेहरुले विरोध गरेको कांग्रेस नेता,कार्यकर्ताहरु बताउँछन् ।

कांग्रेस र कांग्रेसको सशस्त्र क्रान्तिमा विद्यावारिधी गरेका डा. गोविन्दमान सिहं कार्की मेलमिलापको नीति राजासँगको आत्मसमर्पण नभएको बताउनुहुन्छ । सोही नीतिपछि कांग्रेसले सशस्त्र संघर्ष त्यागेको उहाँको विश्लेषण छ ।

वीपी नेपाल फर्कने निर्णयमा पुग्नुमा भारतमा विकसित घटनाक्रम पनि कारक रहेको ठानिन्छ । भारतमा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले सङ्कटकाल लगाई जनताका प्रजातान्त्रिक अधिकार खोसेकाले भारतमा भय र त्रास व्याप्त थियो । भारतमा संकटकाल लागेपछि वीपीका लागि त्यहीँ निर्वासनमा बस्नु असहज बनिरहेको थियो ।

नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता तथा राष्ट्रियता खतरामा रहेकाले राजा र प्रजातन्त्रवादीले संयुक्त रूपमा यसलाई मुकाविला गरी मुलुकलाई बचाउनुपरेको भन्दै कोइराला फर्कनुभयो ।
राजासँग मिल्न तयार वीपी नेपालका कम्युनिष्ट पार्टीहरुप्रति भने अनुदार हुनुहुन्थ्यो ।

राजासँग मेलमिलाप गर्न तयार भएर नेपाल आए पनि वीपीले कम्युनिष्ट पार्टीहरुसँग मिल्न नखोज्नु मेलमिलापको नीति विपरित भन्दै आलोचना हुने गरेको छ । तर, वीपी ०३३ सालमा नेपाल नफर्किएको भए नेपालमा प्रजातन्त्र पुनस्थापना हुन धेरै समय लाग्ने भन्दै कतिपय राजनीतिका जानकारहरु वीपीको नेपाल फर्कने निर्णय ठिक भएको बताउँछन् भने केही राजासँग आत्मसमर्पणका रुपमा आलोचना गर्नेहरु पनि छन् ।