७ बैशाख २०८१, शुक्रबार

नामै नसुनिएका दलसँग एकीकृत समाजवादीको एकीकरण अभियान

madhav

नेपालका कम्युनिष्ट पार्टीहरु फुट र जुटमा रमाउँदै आएका छन् । कहिले नीति त कहिले नेतृत्वको विवादले कम्युनिष्ट पार्टीहरु फुट्ने गरेका छन् ।

त्यसैले पनि नेपालका कम्युनिष्ट पार्टीहरुलाई सिसाका घर जस्तै हुन भन्ने आरोप लाग्दै आएको छ । छिसिक्क कै भैहाले सिसा जस्तै फुटिहाल्ने । भर्खरै एमालेबाट फुटेको नेकपा एकीकृत समाजवादीले एकता अभियान भन्दै नामै नसुनेका पार्टीहरुसँगको एकता शुरु गरेको छ ।

बेलुकासम्म सँगै रहेका नेपालका कम्युनिष्ट पार्टीहरु भोलिपल्ट अलग–अलग मोर्चामा देखिन्छन् । अर्थात नेपालका कम्युनिष्ट पार्टीहरु कतिबेला जुट्छन् र कति बेला फुट्छन् पत्तै हुन्न। २ हजार ७ सालमा पुष्पलालले स्थापना गरेको नेपाल कम्युनिष्ट पार्टी आज फुट्दाफुट्दा दर्जनौं पार्टीमा विभाजित भएका छन् । तर पनि कम्युनिष्ट पार्टीहरुले पार्टी एकताको नाटक मञ्चन भने जारी नै राखेका छन् ।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी बन्यो । निर्वाचनमा झण्डै झण्डै दुई तिहाई बहुमत पाएको नेकपाको एकता तीन वर्ष पनि टिक्न सकेन् र दुई वटा दल एकता पूर्वकै अवस्थामा फर्किए ।

त्यस्तै एमालेको एउटा समूहले माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन गर्यो। पार्टी विभाजन भएको पाँच महिना नपुग्दै फेरी एकीकृत समाजवादीले एकताको अभियान तीव्र पारेको छ । साना साना कम्युनिष्ट घटकहरु एकताको नाममा अहिले नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादीमा समाहित भएका छन् ।

गत मंगलबार नेकपा जनवादीसंग एकता गरेको एकीकृत समाजवादीले शुक्रवार अर्को कम्युनिष्ट घटक राष्ट्रिय जागरण परिषद् नेपाल नामको दलसंग एकता गर्यो । साध्यबहादुर भण्डारीले नेतृत्व गरेको पार्टीसँगको एकता कार्यक्रममा सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उत्साहित हुँदै पार्टी एकताको लहर सुरु भएको घोषणा गर्नु भयो ।

जिल्लाजिल्लामा विभिन्न पार्टी परित्याग गरी आफ्नो पार्टीमा प्रवेश गर्ने लहर देखेर आफू उत्साहित भएको र निर्वाचन आयोगमा दर्ता भएका दलहरुले पनि पार्टी एकताका लागि चासो दिइरहेको नेपालको भनाइ छ । पार्टी एकताको अभियानले राष्ट्रिय राजनीतिमा पनि तंरग पैदा गरेको उहाँको दाबी छ ।

एकीकृत समाजवादीमा समाहित भएको पार्टीका संयोजक भण्डारीले एकीकृत समाजवादी पार्टीको घोषणा पत्र हेर्दा यो पार्टीलाई सच्चा बामपन्थी र देशभक्तहरुको पार्टी बनाउन सकिने देखर पार्टी एकीकरण गरेको बताउनु भयो ।

पार्टी एकता पक्रियामा समाहित हुँदा क्रान्तिकारी भाषण गर्ने कम्युनिष्टहरु विभाजन हुँदा भने एक अर्का प्रति व्यत्तिगत गाली गलौजमै उत्रने गरेका छन् । शुक्रवार पार्टी एकता गरेका राष्ट्रिय जागरण परिषद् नेपालका संयोजक भण्डारी पनि यसअघि राष्ट्रिय जनमोर्चा नेपालमा रहेर सक्रिय राजनीति गर्दै आउनु भएको थियो ।

उक्त दल परित्याग गरी भण्डारीले छुट्टै अभियान शुरु गर्नु भयो र पछि नेकपामै पार्टी विलय गराउनु भयो । नेकपामा रहँदा आफ्नो स्वार्थ सिद्ध नहुने भएपछि पुनः उहाँले राष्ट्रिय जागरण परिषद्लाई सक्रिय बनाउनु भयो ।

यो अभियानबाट पनि पार लाग्ने नदेखेपछि भण्डारीले आफूसहित केही नेताहरुलाई साथमा लिएर नेकपा एकीकृतमा समाहित हुन पुग्नु भयो । नेपालमा नेताहरुको स्वार्थ मिल्दा जुट्ने र स्वार्थ सिद्ध भएपछि वा स्वार्थ पुरा नहुने देखिएपछि पार्टी विभाजन गरी आफ्नो बाटो लाग्ने राजनीतिको फोहोरी खेल निकै मौलाएको छ ।