१० आश्विन २०७९, सोमबार

कम्युनिष्ट सुन्न नचाहने वीपी, कम्युनिष्ट छोड्न नचाहने देउवा !

bp koirala

नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला नेपाली राजनीतिमा सधैं सम्झिने नाम हो । पञ्चायती व्यवस्थाको चरम दबदबाबीच भारतबाट २०३३ साल पुस १६ गते नेपाल फर्किएका बीपीको सिद्धान्त आज पनि सान्दर्भिक रहेको बहस हुने गरेको छ ।

कम्युनिष्टसँगको सम्बन्ध र राष्ट्रियताप्रतिको वीपीको विचार उहाँका अनुयायीहरुले भने चटक्कै भुलेको आरोप लागिरहेको छ ।

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ४० औं स्मृति दिवस मनाइँदै गर्दा उहाँले प्रजातन्त्र स्थापनाका लागि खेलेको भूमिकाको चर्चा परिचर्चा भइरहेको छ ।

जननेता बीपी कोइराला नेपाली कांग्रेसका मात्र नभएर समग्र नेपालीकै प्रिय र आदर्श नेता हुनुहुन्थ्यो । नेपालमा लोकतन्त्र स्थापना र जनाधिकारका लागि संघर्ष गरेका स्वच्छ छविका नेता कोइरालाले साहित्य क्षेत्रमा पनि समानान्तर योगदान पुर्‍याउनुभएको छ ।

वीपी कोइरालाको निधनपछिका ४० वर्ष नेपाली राजनीतिले विभिन्न उचारचढाव बेहोरेको छ । नेपालमा ऐतिहासिक र युगान्तकारी परिवर्तनको शुरुवाती विगुल फुकेका कोइरालाको सिद्धान्त आज पनि कांग्रेसको आदर्शका रुपमा रहेको छ ।

राणा शासनको अन्त्य गर्दै उदाएको कांग्रेसले २०१५ सालमा भएको पहिलो आम निर्वाचनमा एक्लैले दुई तिहाई मत पाएको थियो, १०९ मध्ये ७४ सिट प्राप्त गरेपछि विपी जननिर्वाचित पहिलो सरकारको प्रधानमन्त्री हुनुभयो । तर आज बीपीकै आदर्श बोकेको कांग्रेस अरुको साहरामा मात्र चुनावमा जानुपर्ने बाध्यतामा छ ।

जनतामा जान पनि अरुको साहरा लिनुपर्ने अवस्थाले लोकतन्त्रका हिमायती सच्चा कांग्रेसीहरुका लागि लज्जाको विषय हो । तत्कालिन अवस्थामा नेपालमा कम्युनिष्ट पार्टीको गतिविधि बढेकोमा दुखी बीपीको पार्टीका नेताहरुको अहिलेको हिमचिम कम्युनिष्टसँगै छ ।

२००७ को राणाविरोधी आन्दोलन होस् या २०१९ पछि पञ्चायतविरोधी आन्दोलन बीपीले तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका महासचिव पुष्पलालले सहकार्यका लागि गरेको आग्रह अस्वीकार गर्नुभएको इतिहास साक्षी छ । वीपीको मेलमिलाप नीतिले पनि कम्युनिष्टसँग नभई राजासँगको सहकार्यमा आधारित लोकतान्त्रिक प्रणालीको विकास गर्नु थियो ।

राजनीतिक संकटका बेलासमेत पुष्पलालको कार्यगत एकताको प्रस्ताव अस्वीकार गरेका बीपी नेतृत्वको त्यो कांग्रेस र शेरबहादुर देउवा नेतृत्वको आजको कांग्रेसबीच आकास जमिनको फरक छ ।

२०४६ को परिवर्तनपछिको माओवादी विद्रोहका क्रममा कांग्रेस सिध्याउनका लागि हिड्नेसँग आज छुट्टिनै नसकिने गरी घाँटी जोडिएको छ । टाउकोको मूल्य तोक्ने र तोकिनेबीच घाँटी जोडिदा बीपीको सिद्धान्तको अवमूल्यन भएको छ ।

हिजोका प्रधानशत्रु आज दाजुभाइजस्तो सम्बन्धनमा बाँधिनु वीपीको सिद्धान्तविपरीत भएको तर्क बेला(बेलामा हुने गरेको छ । तर कांग्रेसका नेताहरु भने आजको अवस्थामा सिद्धान्त नै नमिल्ने दलहरुसँगको मिलेमतोलाई बाध्यताको उपज भन्ने गरेका छन् ।

कांग्रेसले राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई आफ्नो आदर्श मान्ने गरेको छ। ती आदर्शहरु केवल विधानमा सीमित छन्, समाजवादमा मुलुकलाई पुर्‍याउने बीपीको सपना पूरा गर्न कांग्रेसमा न त बहस हुन्छ न त कार्ययोजना नै बनेको छ । हरेक नेपालीको घरमा दुहुनो गाई होस भन्ने बीपी कोइरालाको त्यो चेत र चाहना आज पनि पूरा हुन सकेको छैन ।

नेपालमा पटकपटक जनताकै आडमा भएका राजनीतिक क्रान्तिबाट व्यवस्थाहरु परिवर्तन भए पनि जनताको अवस्थामा कुनै परिवर्तन आउन सकेको छैन । वीपीको विचार र सिद्धान्त अहिले हात्तीको देखाउने दाँत र सत्ता प्राप्तिको भर्‍याङ मात्र बनेको छ । आफूलाई वीपीको अनुयायी हुँ भन्नेहरुले यसमा गम्भीर भएर सोच्नु जरुरी छ ।