८ बैशाख २०८१, शनिबार

माधव नेपालसँगको प्रतिशोध मात्र एमालेको संसद अवरोध: अध्यक्ष यादव

Upendra yadav
फाइल फोटो

सासंद अवरोधको कुनै औचित्य नरहेको जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाल)ले गर्दै आएको संसद अवरोधकाे कुनै लक्ष्य नभई माधवकुमार नेपालसँगको प्रतिशोध मात्र भएको यादवले बताउनुभयाे ।

आज (बिहीवार) पश्चिम नवलपरासीको सदरमुकाम परासीमा जनता समाजवादी पार्टी नेपालले गरेको पत्रकार सम्मेलनमा यादवले नेकपा एमालेको संसद अवरोध भनेको माधवकुमार नेपालसँगको व्यक्तिगत प्रतिशोध रहेको भन्नुभएको हाे ।

नेपालले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गरेर ससंदको मान्यता पाएपछि संसदमा छिर्न पाउने अधिकार छ तर एमालेको व्यक्तिगत इर्ष्या र द्वयसले माधवकुमार नेपालहरु संसदमा प्रवेश गर्नु भएन भनेर मात्र उहाँहरुले संसद अवरोध गरेको यादवले बताउनुभयाे । यो गलत भएकाले यसले संसदीय लोकतन्त्रलाई नै नोक्सान पुर्याउने उहाँकाे भनाइ छ ।

संसदमा थुप्रै विधेयकहरु पास गर्नुपर्ने छ, त्यसमा बहस गर्नु पर्यो । यो संसद अवरोधले न त एमालेलाई फाइदा छ, नत कुनै नागरिकलाई । त्यसैले संसद अवरोधको कुनै औचित्य नरहेको अध्यक्ष यादवले दाबी गर्नुभयाे ।