१३ बैशाख २०८१, बिहीबार

दिनभर तनाव सर्लाहीमा, प्रहरीको भ्यानमा आगजनी

nepal polic 63

प्रहरी गस्तीमा हिँडेको भ्यानको ठक्करबाट एक व्यवसायीको मृत्यु भएपछि सोमबार दिनभर सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बयलवास बजार तनावग्रस्त बनेको छ । साँझपख भने बजार क्षेत्रको अवस्था सामान्य बन्दै गएको स्थानीयले बताएका छन् । आक्रोशित एक समूहले प्रहरीको जिपमा आगो लगाएको छ ।

घटनास्थल नियन्त्रणमा लिन दर्जनौँ सेल अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । आक्रोशित एक समूहले ईश्वरपुर नगरपालिका कार्यालय परिसरमा रहेको बा १ झ ७४८२ नम्बरको इलाका प्रहरी कार्यालय हरिपुरको जिपमा आगो लगाएका हुन् ।

प्रहरी टोलीले आगो नियन्त्रणमा लिए पनि जिपको अधिकांश भाग जलेर नष्ट भएको छ । ईश्वरपुर नगरपालिका–७ मा इलाका प्रहरी कार्यालय केशरगञ्जको गस्तीमा हिँडेको भ्यानले आइतबार राति ९ बजेतिर ठक्कर दिँदा ईश्वरपुर नगरपालिका–५ निवासी ३० वर्षीय रामकुमार महतोको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते हुनुभएका उहाँलाई उपचारका लागि जिल्ला अस्पताल मलङ्गवा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । महतोले चलाएको ना ४३ प ५०१८ नम्बरको मोटरसाइकल ट्रकलाई ओभरटेक गर्ने क्रममा प्रहरीको भ्यानमा ठोक्किएको प्रहरीको दाबी छ ।

प्रदर्शनकारीले भने आइतबार राति नै भएको घटना प्रहरीले लुकाएको आरोप लगाएका छन् । सोमबार दिउँसो तीन घण्टा बढी इलाका प्रहरी कार्यालय केशरगञ्जमा वार्तामा बसेका मृतक पक्ष र स्थानीयबीच सहमति हुन सकेन ।

घटनाको विरोधमा सोमबार दिनभर स्थानीयबासी तथा व्यापारीले बयलबास बजार बन्द गरेर इलाका प्रहरी कार्यालय घेराउ गरेका हुन् । ईश्वरपुरमा सोमबार बिहानैदेखि ईलाका प्रहरी कार्यालय बरहथबाका प्रमुख प्रहरी नायब उपरीक्षक उमाशंकर यादव, जिल्ला प्रहरी कार्यालय मलङ्गवाका प्रहरी निरीक्षक कृष्ण गिरी नेतृत्वको टोलीसमेत परिचालन गरिएको छ । स्थानीयको आक्रोश बढ्दै गएपछि सशस्त्र प्रहरी बललाई समेत खटाइएको छ ।