१४ बैशाख २०८१, शुक्रबार

‘अब भाडामा बस्नेलाई पनि विद्युत् मिटर उपलब्ध हुन्छ’

Pampha Bhusal 1 1024x682 1

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पेट्रोलियम पदार्थको आयात न्यूनीकरण र विद्युत् खपतका नीति बनाएर प्रभावकारी कार्यान्वयन गरिने बताउनुभएको छ ।

मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले अबका दिनमा सङ्गठित क्षेत्रमा प्रयोग हुँदै आएको ग्यास चुल्होलाई विद्युतीय चुल्होले विस्थापित गर्ने नीति अख्तियार गरिएको बताउनुभयो ।

उहाँले विद्युत् वितरण विनियमावली २०६९ लाई परिवर्तन गरेर ग्राहकमैत्री विद्युत् वितरण विनियमावली बनाइएको जानकारी दिनुभयो । मन्त्री भुसालका अनुसार अब ग्राहकले मागेको समयमा सहजै विद्युत् पाउने छन् । १०० केभिएसम्म विद्युत् सबैलाई तथा सामुदायिक डेरी, चिस्यान केन्द्र, खानेपानी, सिँचाइ क्षेत्रलाई २०० केभिएसम्म विद्युत् प्राधिकरणकै ट्रान्सफरमरबाट उपलब्ध हुनेछ ।

“अब घर भाडामा बस्नेले पनि प्राधिकरणको छुट्टै मिटर लिई ग्राहक बन्न सक्ने र अपार्टमेन्ट तथा कोलोनीमा बस्नेले समेत छुट्टै मिटर लिएर ग्राहक बन्न सक्नेछन् । यसबाट सहरी क्षेत्रमा डेरा गरी बस्ने लाखौँ जनता लाभान्वित हुनेछन्”, मन्त्री भुसालले भन्नुभयो ।

हरेक प्रदेशमा अर्ध जलाशय र जलाशययुक्त आयोजनाहरू विद्युत् प्राधिकरणमार्फत अगाडि बढाउन कार्ययोजना बनाइरहेको जानकारी दिँदै मन्त्री भुसालले यस्ता आयोजना बनाउँदा ऊर्जा सुरक्षामा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिएको उल्लेख गर्नुभयो ।

निर्माणाधीन प्रसारण लाइन संरचना छिटो सम्पन्न गर्न अनुगमन तथा आवश्यक समन्वयलाई विशेष प्राथमिकता दिएको बताउँदै मन्त्री भुसालले विद्युत् प्राधिकरण र राष्ट्रिय ग्रिड प्रसारण कम्पनीबिच समन्वय गरी प्रसारण लाइन तथा सब स्टेसनहरू निर्माणलाई द्रुत गतिमा अगाडि बढाउँदै लगेको उल्लेख गर्नुभयो ।

सिँचाइ क्षेत्रमा आफूले गरेका कामबारे उहाँले सिँचाइमा करिब ५० प्रतिशत विद्युत् महसुल घटाएको र थप केही महसुल सिँचाइ विभागमार्फत सिधै प्राधिकरणलाई भुक्तानी गर्ने गरी कृषकलाई सहुलियत दिने निर्णय गरेको बताउनुभयो ।