१३ बैशाख २०८१, बिहीबार

दलहरुबीच विद्यमान मतभेद लोकतान्त्रिक विधिबाट निरूपण गर्नुपर्छ : राष्ट्रपति भण्डारी

Rastpati Bidhya Bhandari
फाइल फोटो

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरुबीच विद्यमान सानातिना मतभेदलाई लोकतान्त्रिक विधिबाट निरूपण गर्दै गणतन्त्रलाई आचरणद्वारा राम्रो जीवनशैलीमा रूपान्तरण गर्न आवश्यक रहेको बताउनुभएको छ ।

तुलसीलाल स्मृति प्रतिष्ठानद्वारा आज काठमाडौँमा आयोजित बौद्धिक राष्ट्रिय व्यक्तित्व सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले मुलुक र जनतालाई शिरमा राखेर देश हितमा लागिरहनु नै नेता तुलसीलाल प्रतिको वास्तविक सम्मान हुने बताउनुभयो ।

उहाँले कृषिप्रधान देश नेपालले अरबौँ रुपैयाँको कृषिजन्य सामग्री आयात गरी कहालीलाग्दो व्यापार घाटा व्यहोर्नु परेकोप्रति चिन्ता व्यक्त गर्दै उत्पादन र उत्पादकत्वमा जोड दिई आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सके किसान नेता तुलसीलाल प्रति सच्चा सम्मान हुने पनि चर्चा गर्नुभयो ।

सो अवसरमा राष्ट्रपति भण्डारीले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, संस्कृतविद् हरिराम जोशी, डा. मिना आचार्य, गोपीरमण उपाध्याय, प्रा.डा. सुरेन्द्र केसी र प्रा.डा. राजेश गौतमलाई सम्मान गर्नुभयो ।

कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीले स्वर्गीय तुलसीलाल दूरदर्शी र किसानहरूको हक हितमा सक्रिय व्यक्तित्व रहेको आफूले महसुस गरेको बताउनुभयो ।