१४ बैशाख २०८१, शुक्रबार

तेलुगू फिल्ममा आँचलको पनि डेब्यू

achal

साउथ इन्डियन फिल्ममा अभिनेत्री स्वस्तिमा खड्कापछि आँचल शर्माले पनि डेब्यू गरेकी छन् । उनले नेपालमा छायांकन भएको तेलुगू फिल्म ‘हिटम्यान’ मा मुख्य भूमिकामा अभिनय गरेकी हुन् । १५ दिनसम्म काठमाडौं र पोखरामा छायांकन भएको फिल्ममा उनले नेपालीमै संवाद बोलेकी छन् । फिल्ममा उनको अपोजिटमा नेपाली मुलका तेलुगू कलाकार विष्णु अधिकारी प्रस्तुत छन् ।

विष्णु फिल्मका निर्देशक पनि हुन् । उनले अब फिल्मको १० प्रतिशत मात्र छायांकन बाँकी रहेको र त्यसलाई भारतको हैदराबादमा खिच्ने तयारी भएको जानकारी दिए । उनका अनुसार, नेपालमा फिल्मको ५० प्रतिशत छायांकन गरिएको छ । उनले नेपालमा खिचिएको भागमा नेपाली भाषामै संवाद समावेश गरिएको र भारतमा खिचिएको भागमा तेलुगू भाषामा संवाद राखिएको बताए ।

उनले भने ‘फिल्म नेपाल र भारत दुवै देशमा रिलिज हुनेछ । नेपालमा रिलिजका लागि तेलुगू संवादमा नेपाली सब टाइटल राख्नेछौं भने भारतमा रिलिजका लागि नेपाली संवादको ठाउँमा तेलुगू सब टाइटल राख्नेछौं । ‘हिटम्यान’ को कथा नै नेपाल र भारतसँग जोडिएको छ ।’ फिल्ममा नेपालको पार्टमा विष्णुको जोडीको रुपमा आँचल देखिनेछिन् भने भारतको पार्टमा अदिती शर्मा छिन् ।