१४ बैशाख २०८१, शुक्रबार

माडी पुगेर प्रचण्डलाई विक्रम पाण्डेको व्यङ्ग्यः ३० औं वर्षदेखि अध्यक्ष बनेर जनता झुक्याउँने हामी होइनौं

Bikram pandey chitwan

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले ३० औं वर्षदेखि एउटै व्यक्तिले पार्टीको नेतृत्व गरेको भन्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई व्यङ्ग्य गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले माडीमा गरेको स्वागत तथा सम्मान कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पाण्डेले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतको माडीमा पुगेर गत निर्वाचनका चुनावी प्रतिस्पर्धी पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि व्यङ्ग्य गरेका हुन् ।

उनले राप्रपाको राष्ट्रिय महाधिवेशनबाट हाम्रो पार्टी अग्रगमन र पच्छगमनकारी के रहेछ भन्ने स्पष्ट भएको बताए । उनले भने, ‘ राप्रपाले जनजाति युवालाई महाधिवेशनबाट पार्टीको अध्यक्षमा निर्वाचित गरेको छ । ३० औं वर्षदेखि एउटै व्यक्ति लाई अध्यक्ष बनाएर जनता झुक्याउँदै हिड्ने पार्टी हामी होइन । देशलाई ठूला पार्टीले पच्छगमनमा पु¥याएका छन्, जनतालाई झुक्याइएको छ ।

मैले ल्याएका विकासका टेन्डरहरु अलपत्र परेको भन्दै उनले माडीको विकास निर्माणले जनप्रतिनिधिलाई गिज्याएर बसेको विचार राखे । उपाध्यक्ष पाण्डेले भने, ‘ रिउ करिडोर बनाउने योजना अगाडि बढाएको थिए । जनताको जमिनमा जंगली जनावर पस्न नपाउने योजना बनाएको थिए । माडीमा चक्रपथको अवधारणा थियो । त्यो पनि अवरुद्ध भएर बसेको छ ।’ उनले पृथ्वीनारायण शाहाले एकीकरण गरेको देश अहिले संघीयताको नाममा कित्ताकाँट गरेर राखिएको बताए । उनले संघीयताको विरोध गर्दै भने, ‘ संघीयताले देशको विकास हुन्छ भनिएको थियो तर हामीले तिरेको तिरोबाट पालेर नै नसक्ने अवस्था आयो ।

उनले आफूले माडीलाई नगरपालिका बनाएको दाबी गर्दै आज माडी नगरपालिका नबनाएको भए, इलाका प्रशासन र मालपोत नल्याएको भए यहाँको अवस्था के हुन्थ्यो होला भन्ने प्रश्न गरे । उनले पृथ्वीनारायण शाहाको सन्तानलाई राजाबादी भन्न नपाइने चीनमा जन्मिएको माओलाई मानेर हिड्नुपर्ने अवस्था रहेको बताए ।

उपाध्यक्ष पाण्डेले भने, ‘हामी राष्ट्रवादी हौं । हामी नेपालको धर्तीमा असंलग्न परराष्ट्र नीति, उत्तर र दक्षिण तिर साँठगाँठ नगरी विकास गर्न चाहन्छौं । सबै धर्मलाई सम्मान गर्छौ । विभिन्न भाषाहरुलाई समान सम्मान गर्छौ । विदेशी धर्मगुरुकोमा गएर प्रसाद चाख्ने काम राष्ट्रवादीले कहिल्यै गर्दैन । धर्मिक पर्यटकीय क्षेत्र , माडीले सम्भावना बोकेर अगाडि बढेको छ ।’

विक्रम पाण्डे आउँदै आएन भनेर माडी बासीले भनेको भन्दै उनले भने, ‘म सांसद हुँदा र मन्त्री हुँदा काम गर्न नदिनेहरु थिए । उहाँहरुबाट कुनै काम हुन सकेको छैन । अहिले माडी आउँदा कहीँ पनि देख्दिन । जंगलमा पिचको ठेक्का लगाएको थिए , अहिले सम्म धुले बाटो त्यस्तै छ । सिंगो प्राणीलाई विकास गर्नुपर्छ । व्यक्ति होइन । इलाका प्रशासन र मालपोत हामीले स्थापना गरेको हो । नगरबस पनि सञ्चालन गरेका थियौं ।’
उनले भने, ‘भाषण गर्नेहरुले धेरै गरे । धनीको सम्पति बाड्छु भनेर पनि भाषण गरे । अब मेरो प्रधानमन्त्री र मन्त्री भएर कुर्चीमा गएर बस्न पाइएन भन्ने सोचेर अब आउने निर्वाचनमा भोट घट्ला भनेर बरबराउँदै हिडेका छन् । विभिन्न मन्त्रालयको मन्त्री उठाएर ल्याउने, नक्कली प्राविधिक मन्त्री पनि ल्याउँछन् । यतिबेला फेरि स्याल आयो, स्याल आयो भन्नुहुन्छ न स्याल आउँछ न विकास आउँछ । यो ठाउँको विकास गर्ने मानिस, उसले घर बनाएको छ । घडेरी किनेको छ । त्यो घर कहाँबाट बन्यो काठमाडौँमा । ठूलठुला मानिसहरु डेरामा बसेको छु भन्छन् । ’

उपाध्यक्ष पाण्डेले दक्षिण एशियाकै धनी नेताहरु हाम्रो देशमा र विश्वकै गरिब जनता हाम्रो देशमा रहेको बताए । उनले ठूला दलका नेताहरुप्रति आक्रोश पोख्दै भने, ‘गरिबलाई झुक्याएको छ । खै त कम्युनिस्टहरु आए त केही परिवर्तन भएन । आफ्नो परिवारको आफ्नो नजिकको मानिसको भयो । संविधान न घोडा र न उँट जस्तो बनाइयो । यो राम्रो भएछ भन्ने ठाउँ नै छैन । अब राष्ट्रिय ढुकुटी दुर्घटनामा जान खोजेको छ । अप्ठ्यारो अवस्थामा देशमा आउन लागेको छ ।

हामी यो वादी र त्यो वादी भन्नेहरुले देशको पक्षमा काम गरेकै छैनन् । धर्म र संस्कृतिलाई आक्रमण गर्नेहरुमाथि काम गरेका छन् । हामीले तिरेको कर , संघीय सरकारदेखि प्रदेश, स्थानीय तहमा खर्च भइरहेको छ । सरकारी गाडी र मोटरसाइकल चढेर हिडेका छन् । ’ उनले ठूला पार्टीका नेताहरु विदेशीको इशारामा धर्मको विरुद्ध काम गरिरहेको दाबी गरे ।