१५ बैशाख २०८१, शनिबार

एमसीसी सम्झौता अस्वीकार गर्ने एकीकृत समाजवादीको निर्णय

madhav

सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीले यथास्थितिमा अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अस्वीकार गनुपर्ने बताएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसदमार्फत अघि बढाउने प्रयत्न गरिरहनुभएको बेला एकीकृतले अहिलेको अवस्थामा एमसीसी पारित हुन नसक्ने प्रष्ट पारेको हो ।

एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले अमेरिकाले दिने ४२ अर्ब रुपैयाँभन्दा ठूलो राष्ट्रिय स्वाभिमान, राजनीतिक स्थिरता र नेपाली जनताको मनोभावना महत्वपूर्ण भएको बताउनुभएको छ । आज बस्ने सर्वदलीय बैठकमा प्रधानमन्त्रीले एमसीसी अनुमोदनको प्रस्ताव गरे एकीकृत समाजवादीले अस्वीकार गर्ने प्रवक्ता खतिवडाले बताउनुभयो ।

सरकारले आगामी संसद बैठकमा एमसीसी प्रस्ताव पेश गर्ने तयारी गरेको बताइएको छ । प्रतिनिधिसभाको अर्को बैठक पुस ६ गते बस्दैछ । त्यसअघि प्रधानमन्त्री देउवाले आज अपरान्ह सर्वदलीय बैठक बोलाएर एमसीसीबारे छलफल गर्न लाग्नुभएको छ । सर्वदलीय बैठक अघि आइतबार बिहान एकीकृत समाजवादीले काठमाडौको एक होटलमा एमसीसीबारे छलफल गरेको हो । पार्टीका नेताहरुको धारणामा एकरुपता बनाउन बसेको छलफलमा पार्टी अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल, पार्टीका मन्त्री र सांसदहरुको सहभागी रहेको थियो ।

पार्टीका नेताहरूसँगको छलफलपछि नेता झलनाथ खनालले एमसीसी सम्झौता संशोधन नगरी अघि बढाउनै नसकिने बताउनुभयो ।