६ बैशाख २०८१, बिहीबार

आज प्रदेश २ सभाको बैठक, नाम र राजधानीको प्रस्ताव पेश हुने

Province No. 2

प्रदेश २ को प्रदेश सभाको बैठक बुधवार आह्वान गरिए पनि नेपाली कांग्रेसको निर्वाचनका कारण विधेयक टेबुल भएर स्थगन हुने भएको छ ।

प्रदेश सभाको बैठकमा प्रदेश प्रमुखबाट आएका पत्रहरु पढेर सुनाइने छ । प्रदेश सरकारले जारी गरेका दुई विश्वविद्यालय सम्बन्धी अध्यादेशहरु टेबुल हुनेछ । प्रदेश सभाको आठौ अधिवेशनले प्रदेशको नामकरण र राजधानीबारे निर्णय लिने संभावना छ ।

प्रदेश सभाका सचिव रञ्जित यादवका अनुसार विधेयकहरु टेबुल हुनेछ ।‘प्रदेशको नामकरण र राजधानी सम्बन्धी विधेयक टेबुल हुनेछ’ उनले भने, पहिलो बैठकमा दलका प्रतिनिधिहरुले शुभकामना दिने कार्यक्रम पनि रहेको छ ।

प्रदेश २ को नामकरण र राजधानी टुंग्याउन सभामुख सरोजकुमार रायले सातौ अधिवेशनमा रुलिंग गरेका थिए । नेपाली कांग्रेस संसदीय दलका नेता र सभासदहरु १४ औं महाधिवेशनको क्रममा मतदान कार्यक्रम लम्बिएपछि राजधानी काठमाण्डुमा नै रोकिएका छन् ।

उनीहरुको अनुपस्थितिमा प्रदेश सभाको बैठकमा विधेयकहरुमाथि छलफल हुने छैन् । नेकां संसदीय दलका नेता समेत रहेका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री रामसरोज यादव सहितका सभासदहरु बुधवार अबेर सम्म जनकपुरधाम फर्किने संभावना छ ।‘पार्टीको महाधिवेशन लम्बिएको कारण निर्धारित समयमा आउन हामीलाई समस्या भएको छ ’नेता यादवले भने, विधेयकहरु टेबुल हुने तर छलफलपछि हुनेछ ।

सरकारले प्रदेशको नामकरण र राजधानीको टुंगो लगाउन कांग्रेसको विश्वास चाहेको छ ।राजधानीको सबालमा धेरै विमति नरहेपनि नाममा भने सहमति हुन सकेको छैन् ।प्रदेशको राजधानीका लागि जनकपुरधाम समेत वरिपरिको भूभागलाई सुनिश्चित गरेको प्रस्ताव दुई तिहाई मतले पारित हुने संभावना बलियो छ ।

राजधानीको सवालमा बारा र पर्सा जिल्लाका सभासदहरुको धारणा वीरगञ्जलाई राजधानी बनाउनु रहेको छ । तर रौतहटदेखि सप्तरीसम्मको ६ जिल्ला जनकपुरधाम राजधानीको पक्षमा रहेकाले त्यो पास हुने संभावना बलियो रहेको कांग्रेस संसदीय दलका नेता यादवको विश्वास छ । प्रदेशको नाममा भने जनता समाजवादी पार्टी(जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी( लोसपा) एकजुट छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा एकीकृत समाजवादी(एस)जसपा र लोसपाको ‘मधेश प्रदेश’मा सहमति जनाएका छैनन् ।तर सत्तासीन दलहरु मध्येको माओवादी केन्द्रले मधेश प्रदेशमा समेत सहमति जनाउन सक्ने संभावना छ ।

सत्तासीन दलहरुबीच नै नाममा सहमति नजुटे पनि प्रमुख प्रतिपक्षी दल लोसपाले जसपाको मधेश प्रदेशमा सम्पूर्ण रुपले समर्थन जनाउने बताइसकेको छ ।‘मधेश प्रदेश नामकरण र जनकपुरधाम राजधानीमा लोसपाले सरकारलाई पूर्ण समर्थन गर्नेछ’ लोसपाका प्रमुख सचेतक परमेश्वर साहले भने, तर दुई तिहाई बहुमत पु¥याउन सत्तासीन दलहरुले नै सघाउनु पर्छ ।

प्रदेश २ मा जसपाको ३८ सभासद, नेपाली कांग्रेसको २१ सभासद, लोसपा १६ सभासद, नेकपा एकीकृत समाजवादी १३ सभासद, माओवादी केन्द्रको ८ सभासद र नेकपा एमालेको ८ जना सभासद रहेका छन् । लोसपाका १६ जना र एमालेको ८ जना विपक्षमा रहे पनि जसपाले नामकरण र राजधानी तोक्न प्रमुख प्रतिपक्ष लोसपाको दरिलो समर्थन पाउने छ ।जसपा र लोसपा समेत ५५ जना सभासद रहेका छन् ।

माओवादी केन्द्रका ८ जना र एकीकृत समाजवादीको १३ जनालाई सरकारले विश्वासमा लिन सके नामकरण र राजधानी दुबै प्रस्ताव दुई तिहाईबाट पारित हुन सक्छ । प्रदेश सरकारका लागि प्रतिष्ठा बनेको नामकरण र राजधानी टुंगो लगाउन कांग्रेसको एक्लैको समर्थनले पनि संभव छ । तर कांग्रेस मिथिला, भोजपुरा प्रदेश नामकरण गर्नुपर्न अडानबाट पछि हटेको छैन् ।

प्रदेशको नामकरण गर्न र स्थायी राजधानी तोक्न प्रदेश सरकारले आफ्नै सहयोगी दलहरु मध्ये कांग्रेस अथवा एकीकृत समाजवादी र माओवादी केन्द्रको समर्थन लिनै पर्ने अवस्था छ । नेपाली कांग्रेससित सल्लाह गरी नै प्रदेश सभाको बैठक बोलाइएको मुख्यमन्त्री लालबाबु राउतले बताउँदै महाधिवेशनमा चुनाव लम्बिएकोले नेताहरुलाई फर्किन कठिनाइ भएको बताए ।

‘प्रदेशको नामकरण र स्थायी राजधानी तोक्न दलहरुबीच आमसहमति हुनेछ’ उनले भने, सबै दलले निर्णय गर्न चाहेकाले समस्या आउने छैन् । प्रस्तावमा प्रमुख प्रतिपक्ष र विपक्षी दलले पनि सघाउने उनको विश्वास छ । प्रदेश सभाको बैठक ११ बजे बस्ने सचिव यादवले जनाए ।बैठकका लागि सम्पूर्ण तयारी पूरा भइसकेको उल्लेख गर्दे उनले कोभिड–१९को संक्रमणलाई विशेष ध्यान दिएको बताए ।