१५ चैत्र २०८०, बिहीबार

गरिबी र बेरोजगारी ठूलो राजनीतिक रोगः अध्यक्ष यादव

Upendra yadav
फाइल फोटो

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशमा गरिबी र बेरोजगारी नै सबभन्दा ठूलो राजनीतिक रोग रहेको बताएका छन् ।

मंगलबार महोत्तरीको रामगोपालपुर नगरपालिका–९मा संचालनमा आएको जानकी एकेडेमिक हस्पिटल प्रा.लि.को उद्घाटन गर्दै उनले सो अभिव्यक्ति दिएका हुन् ।

देशमा व्याप्त राजनीतिक रोगको रुपमा रहेको गरिबी र बेरोजागरीको अन्त्य गर्न राजनीति नै अस्त्र रहेको उनले उल्लेख गरे । सबैभन्दा बढी बेरोजगारी र गरिबी प्रदेश २ मै रहेको बताउंदै उनले भने,‘जनताले यस्तो राजनीतिक रोग अन्त्यको लागि चुनावमा कुनै प्रलोभनमा नपरी असल नेता चुन्न सक्नु पर्छ ,अन्यथा रोगलाई जरोदेखि निर्मूल गर्न सकिन्न ।’

जनताको मानसिक तथा शारीरिक स्वास्थ्य निर्माणको काममा जानकी एकेडेमिक हस्पिटल सफल होस भन्ने कामना गर्दै उनले शिक्षा र स्वास्थ्य सेवामा प्रदेश २ अझै पनि जनताको पहुंच बाहिर रहनु दुर्भाग्यपूर्ण रहेको बताए । गुणस्तरीय स्वास्थ्य सेवाको पहुंचबाट टाढा रहेको यस क्षेत्रका जनतालाई सुलभ र विश्वसनीय सेवा उपलब्ध गराउने विश्वास उनले व्यक्त गरे ।

सरकारले समेट्न नसकेको ग्रामीण भेगमा स्थापना भएको यो अस्पतालले जनताको स्वास्थ्य उपचारमा सहज पहुंचको चाहना पूरा गर्नेमा आफू ढुक्क रहेको विश्वास समेत उनले व्यक्त गरे । कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले २ सय शैयाको यस अस्पतालले यस भेगको जनताको स्वास्थ्य क्षेत्रमा अतुलनीय योगदान पु¥याउने विश्वास व्यक्त गर्दै स्वास्थ्य उपचारलाई सस्तो र सर्वसुलभ बनाउन अस्पताल संचालकलाई सुझाव दिए ।

कार्यक्रमका अध्यक्षको आसनबाट बोल्दै डा.सुरेन्द्र यादवले जनकपुरमा पाइने सम्पूर्ण स्वाथ्योउपचार सेवा यस भेगका नागरिकले सहजै उपलब्ध हुने बताए । जनकपुर स्थित जानकी हेल्थकेयरका सञ्चालक तथा महोत्तरी क्षेत्र नं.४ बाट प्रतिनिधिसभा सदस्य डा.यादवले स्थापना गरेको जानकी एकेडेमी हस्पिटल प्रा.लि.ले सो क्षेत्रकै सबभन्दा बढी दुई शैयाको अस्पताल सुविधा सम्पन्न रहेको दाबी संचालकले गरेका छन् ।

सो हस्पिटलमा सिटी स्क्यान, आइसियु, एनआइसियु, भेन्टिलेटर, प्रसुति सेवा, हेल्थ इन्सोरेन्स लगायतको सेवा सहज रुपमा प्रवाह गर्ने बताइएको छ । कार्यक्रममा जसपा नेपालका प्रदेश २ अध्यक्ष तथा संघीय सांसद राम बाबू यादव ,आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत साह, सामाजिक विकास मन्त्री नवल किशोर साह,पूर्व कृषि मन्त्री हरिनारायण यादव, प्रदेशसभा सदस्य कौशल यादव , संजय यादव लगायतका विभिन्न पार्टीका नेताहरुको सहभागिता रहेको थियो ।