६ चैत्र २०८०, मंगलवार

अहिले उपलब्ध खोप नै असरदार नयाँ भेरियन्ट ओमिक्रोनविरुद्ध: डब्लुएचओ

who geneva headquarters

कोरोना भाइरसविरुद्धका हालका खोपले नयाँ भेरियन्ट ओमिक्रोनविरुद्ध पनि काम गर्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।

ओमिक्रोन भेरियन्टबाट संक्रमित भए पनि हालका खोपले गम्भीर बिरामी पर्न नदिने डब्लुएचओका अधिकारीले बताएका हुन् ।

दक्षिण अफ्रिकामा फाइजर खोपको ओमिक्रोनमा रहेको प्रभावकारितालाई लिएर गरिएको प्रयोगशाला परीक्षणपछि डब्लुएचओले यस्तो बताएको हो ।

तर नयाँ भेरियन्टविरुद्ध खोपले कसरी काम गर्छ भन्नेबारे थाहा पाउन धेरै बाँकी रहेको अनुसन्धानकर्ताहरुले बताएका छन् ।

डब्लुएचओका डा माइक रायनले अहिलेसम्मका तथ्यहरुमा ओमिक्रोनले खोपलाई छल्ने सम्बन्धमा अरु भेरियन्ट भन्दा शक्तिशाली नदेखिएको बताए । अर्थात खोपले ओमिक्रोनबाट संक्रमित भएकाहरुलाई गम्भीर बिरामी पर्नबाट रोक्ने उनको भनाइ छ ।

डेल्टा वा अरु भेरियन्टले भन्दा बढी बिरामी ओमिक्रोनले नबनाउने प्रारम्भिक तथ्यहरुले देखाएको उनले बताएका छन् । खोपले कम्तीमा पनि गम्भीर बिरामी हुनबाट रोक्ने देखिएको डा। रायनले बताए ।

दक्षिण अफ्रिकामा भएको अनुसन्धानमा कोरोना भाइरसको सुरुको भेरियन्ट भन्दा ओमिक्रोनविरुद्ध फाइजर खोपको प्रभावकारिता ४० गुणा कम देखिएको छ । तर ओमिक्रोनविरुद्ध पनि काम गरेको देखिएको छ ।