१३ बैशाख २०८१, बिहीबार

बैठकमै गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट, अध्यक्षको दाँत भाँचियो

saptari

सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच कार्यपालिका बैठकमै कुटाकुट भएको छ । यसक्रममा अध्यक्ष मण्डलका दुईवटा दाँत नै भाँचिएको स्थानीय प्रत्यक्षदर्शीहरूले बताए ।

किसानका लागि अनुदान अन्तर्गतको गहुँको बिउ वितरणबारे गाउँ कार्यपालिका कार्यालयमा विवाद हुँदा दुई जनप्रतिनिधिबीच हात हालाहाल भएको हो । कुटाकुटको क्रममा अध्यक्षका दुई दाँत भाँचिएको बैठकमा सहभागी एक वडाध्यक्षले बताए ।

गहुँ बिउ वितरणको स्थान र प्रक्रियाबारे बैठकमा विवाद हुँदा अध्यक्षले आफूलाई अपशब्द प्रयोग गर्दै हात समाई अभद्र व्यवहार गरेपछि प्रतिकार गरेको उपाध्यक्ष उषाकुमारी मण्डलले बताइन् । गाली गलौज गर्दै हात समाई साडी खोलिदिने भन्दै अभद्र व्यवहार गरेपछि प्रतिकार गरेकी हुँ,उपाध्यक्ष मण्डलले भनिन्, आफ्नो इज्जत जोगाउन प्रतिकार गरेकी हुँ । त्यसक्रममा कता लाग्यो के भयो थाहा भएन ।

उपाध्यक्षले अध्यक्षको आक्रमणबाट हातका चुरा फुटेको र चोट लागेको समेत बताएकी छन् । यस घटनाबारे अध्यक्ष मण्डलसँग सम्पर्क हुन सकेन ।