१३ बैशाख २०८१, बिहीबार

दुई दिन मात्र बाँकी कांग्रेसको १४औं महाधिवेशन: उम्मेदवार छनोटमा सकस, संस्थापन र संस्थापन इतर समूहका नेताहरु टिम घोषणाको तयारीमा

Deuba Poudel
फाइल फोटो

नेपाली कांग्रेसको १४औं महाधिवेशन आउन अब दुई दिन मात्र बाँकी छ । संस्थापन र संस्थापन इतर समूहका नेताहरु टिम घोषणाको तयारीमा जुटेका छन् ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले आज आफ्नो पक्षका पदाधिकारी आकांक्षीसँग छलफल गर्दै हुनुहुन्छ ।

सभापति देउवाले बूढानीलकण्ठस्थित आफ्नै निवासमा पदाधिकारीका उम्मेदवार छान्न बैठक बोलाउनुभएको हो । १४औं महाधिवेशनमा संस्थापन पक्षका उम्मेदवारको प्यानल बनाउन बैठकमा छलफल हुने बताइएको छ ।

सभापतिमा देउवाले आफू उम्मेदवार हुने यसअघि नै बताइसक्नुभएको छ । २ जना उपसभापतिको व्यवस्था रहेको कांग्रेसमा यसका लागि देउवा पक्षका ४ नेताले दाबी गरिरहेका छन् ।

हालका उपसभापति विजयकुमार गच्छदार र महामन्त्री पूर्णबहादुर खड्का उपसभापतिको मुख्य दाबेदार मानिएका छन्। संस्थापन पक्षबाट महामन्त्रीमा हाल सहमहामन्त्री रहेका प्रकाशशरण महत, गृहमन्त्री बालकृष्ण खाँण, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, नेताहरू एनपी साउद, रमेश लेखक र प्रवक्ता विश्वप्रकाश शर्माको मुख्य दाबेदारी देखिएको छ ।

कांग्रेसमा सह(महामन्त्रीका दलिततर्फ देउवा समूहबाट मानबहादुर विश्वकर्मा, मीनबहादुर विश्वकर्मा, लक्ष्मी परियार र सुजाता परियार दाबेदारी रहेको छ। मुस्लिम कोटाको सह(महामन्त्रीमा पनि देउवा समूहभित्रै चर्को प्रतिस्पर्धा छ।

संस्थापन समूहबाटै केन्द्रीय सदस्य फर्मुल्ला मन्सुर र अत्तहर कमाल मुसलमानबीच प्रतिस्पर्धा छ। महिलातर्फको सह(महामन्त्रीमा संस्थापन पक्षका धेरै आकांक्षी छन्। चित्रलेखा यादव, पुष्पा भुसाल, डीना उपाध्याय, डा. डिला संग्रौला, ईश्वरी न्यौपाने र अम्बिका बस्नेतलगायत सह(महामन्त्रीका दाबेदार देखिएका छन्।

यसैगरी आदिवासी जनजाति र मधेसीतर्फ सहमहामन्त्री छनोट गर्न पनि सभापति देउवालाई कठिन भएको छ। आज पदाधिकारीमा आकांक्षीबीच छलफल गरेर टिमलाई अन्तिम रुप दिने देउवाको तयारी छ ।