१५ चैत्र २०८०, बिहीबार

सप्तरीका सबै निर्वाचन स्थलमा निर्वाचन सामग्री पुगिसके : मुख्य निर्वाचन अधिकृत

nepal elecion commison

मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले सप्तरीका सबै मतदानस्थलमा निर्वाचन सामग्री पुगिसकेको जानकारी दिएका छन् । भाेलि हुने निर्वाचनका लागि जिल्लाका २९७ वटै मतदानस्थलमा आवश्यक सामग्री पुगिसकेकाे छ । अहिले मतदानका लागि बुथ निर्माण भइरहेकाे उनले बताए ।

‘महिला, पुरुष र अशक्त अपांगताका लागि सहज रूपमा मतदान गर्ने वातावरणका लागि बुथ निर्माण गर्न सबै मतदान अधिकृतलाई निर्देशन दिएको उनले बताए । सबैलाई सहज हुनेगरी बेलुकासम्म बुथ तयार भइसक्ने उनको भनाइ छ । उनले भने,´भाेलि मतदान सकिएसँगै मतगणना सुरु गर्ने तयारी थालिएकाे छ ।’

यता, शान्तिपूर्वक भयरहित वातावरणमा मतदान सम्पन्न गराउन सबै सुरक्षा व्यवस्था मिलाइसकेको सप्तरीका प्रहरी प्रमुख अविनारायण काफ्ले बताए । उनले मौन अवधिमा निर्वाचन आचारसंहिता विपरीत काममा प्रयोग भएका एक थान स्कारपियो गाडी सप्तकोशी नगरपालिकाबाट नियन्त्रणमा लिएको जानकारी दिए ।

जिल्लाका सबै मतदान स्थलको सुरक्षा व्यवस्था कडा गरिएको छ, शान्तिपूर्ण रूपमा मतदान सम्पन्न गराउन आवश्यकताअनुसार सुरक्षाकर्मी परिचालन समेत गरिसकेको काफ्लेको भनाइ रहेको छ ।

सप्तरीमा २९७ मतदानस्थलमा ५३८ वटा मतदान केन्द्र छ । सुरक्षा विश्लेषणको आधारमा २०८ मतदानस्थललाई अति संवेदनशील, ८३ संवेदनशील र ४ वटालाई सामान्य तोकिएको छ ।

एक हजार ६३७ नेपाल प्रहरी र तीन हजार २७८ म्यादी प्रहरी गरी कुल ४ हजार ९१५ जना सुरक्षाकर्मी मतदान स्थलमा खटाइएको छ भने नेपाली सेना पनि परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।