१३ बैशाख २०८१, बिहीबार

नेपालमा ओमिक्रोनको नयाँ भेरियन्ट बिएटूको संक्रमण

omicron 1

नेपालमा हाल ओमिक्रोन भाइरसको नयाँ भेरियन्ट समुदाय स्तरमा फैलिएको विशेषज्ञहरूले बताएका छन् ।

ओमिक्रोनको परिवर्तित स्वरूप बि ए टुको लक्षणमा फरक नभए पनि छिटो फैलने किसिमको भएको बताइएको छ ।

नेपालमा गत माघ ६ गते ओमिक्रोन भाइरसबाट सबैभन्दा बढी एकै दिन १२ हजारभन्दा बढिमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क रहेको छ ।

डेल्टा भाइरसभन्दा तीन गुणा बढी फैलन सक्ने भनी पुष्टि भएको ओमिक्रोन भेरियन्ट पत्ता लागेको केही महिनामै विश्वका अधिकांश मुलुकमा यो फैलिएको हो । तर नेपालमा हाल ओमिक्रोनको परिवर्तित स्वरूप नयाँ भेरियन्ट वि.ए.टू को संक्रमण फैलिएको विशेषज्ञहरूले बताएका छन् ।

ओमिक्रोन नयाँ भेरियन्टका बारे शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पतालका सङ्क्रामक रोग विशेषज्ञ डा.शेरबहादुर पुनले नेपालमा संक्रमणदर उच्च देखिएको बेला नै ओमिक्रोन भाइरस थप म्युटेसनको शङ्का गरिएको बताउनुहुन्छ ।

डा.पुनले जीन सीक्वनसीङ गर्दा एस जीन पोजेटिभमा ८८ प्रतिशतमा ओमिक्रोन संक्रमण पुष्टि भएको भन्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको रिपोर्टले नै ओमिक्रोनको म्यूटेड रूप वि ए टु फैलिसकेको बताउनुभयो ।

ओमिक्रोन भाइरसको वि ए थ्री सम्मको म्युटेड (परिवर्तित) रूप रहेको र युरोपका केही देशहरूमा ओमिक्रोनको नयाँ भेरियन्ट भनिएको वि ए टुले ओमिक्रोन भेरियन्ट अर्थात् वि ए वानलाई प्रतिस्थापन गरिसकेको समाचारहरू समेत आएका छन् ।

ओमिक्रोनको सुरुको रूप विएवान र परिवर्तित स्वरूप विएटूको सङ्क्रमणका लक्षणहरूमा फरक नदेखिए पनि हालको म्युटेड रूप विएटू अझ छिटो फैलने डा.पुनले बताउनुभयो ।

हाल नेपालमा कोरोना सङ्क्रमणको सङ्ख्या घट्दो देखिएको भए पनि यो साँच्चिकै संक्रमणदर कम भएको हो भन्ने प्रश्नमा डा.पुनले पाँचदेखि ७ दिनसम्म होम आइसोलेसनमा रहे लक्षणको आयु सकिने भएकाले पनि अधिकांश संक्रमितहरु परीक्षणको दायरामा नपुग्दा संक्रमण सङ्ख्या घटेको देखिएको बताउनुभयो ।

हालसम्म कोरोना भाइरस विभिन्न घातक स्वरूपमा परिवर्तन भइसकेको छ । भाइरसले जति नयाँ स्वरूप परिवर्तन (म्युटेसन) गर्दै जान्छ त्यति नै छिटो फैलने र प्राणका लागि घातक तथा कम घातक हुने गतिमा समेत परिवर्तन आउन सक्ने विशेषज्ञहरूको तर्क छ ।