१५ चैत्र २०८०, बिहीबार

पटकपटक फुटेको पार्टी राप्रपामा लिङ्देनको उदय : युवा उत्साहित, एजेण्डामा शङ्का

Rajendra l12 61

२०४६ सालको जनआन्दोलनबाट ३० वर्षे पञ्चायती व्यवस्थाको अन्त्यसँगै पूर्वपञ्चबाट गठित राष्ट्रिय प्रजातन्त्र पार्टीले नयाँ मोड लिएको छ । पटकपटक फुटेको पार्टीको राष्ट्रिय एकता महाधिवेशनबाट युवा नेता राजेन्द्रप्रसाद लिङ्देन अध्यक्ष बन्नुभएको छ ।

पार्टी फुटको शृङ्खला अन्त्य गर्ने भन्दै निवर्तमान अध्यक्ष कमल थापाले ‘भगवत् गीता’ छोएर कसम खाएपछि पार्टी एकतामा आम कार्यकर्ता आश्वस्त भएका थिए । तर अध्यक्षमा लिङ्देनको विजयीसँगै प्रतिस्पर्धी थापाले भने आइतबार बिहानै सामाजिक सञ्जालमार्फत आक्रोश पोख्नुभएको छ । केन्द्रीय समितिमा बहुमत हात प्राप्त गर्नुभएका थापाले लोकतान्त्रिक प्रक्रियालाई स्वीकार गर्नुको विकल्प छैन । लिङ्देनको उदयले पार्टी भित्रको स्थापनाकालदेखिकै अधिपत्य अन्त्य भएको छ । यसलाई थापाले कसरी स्वीकार गर्नुहुन्छ भन्ने आशङ्का राजनीतिक विश्लेषकले गर्न थालेका छन् ।

राजसंस्था र हिन्दूराज्यलाई प्रमुख एजेन्डा बनाएको पार्टी नेतृत्व युवा र आशालाग्दा नेतामा गएको भन्दै राप्रपाका आम कार्यकर्ताले खुशीयाली मनाएका छन् । लिङ्देनको उदयले राप्रपाभित्र नयाँ मोड सुरु भएको देखिन्छ । पार्टीमा मात्र नभएर लिङ्देनप्रति आम नागरिकले आशा राखेका छन् । यद्यपि राप्रपाको एजेन्डामाथि भने धेरैले शङ्का गर्दै आएका छन् ।

एकता महाधिवेशनबाट भएको लिङ्देनको उदयलाई सामान्य मान्न सकिँदैन । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ३ मा काँग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई पराजित गर्दै सङ्घीय संसद बन्नुभएका लिङ्देन पार्टीको नेतृत्वमा पुग्नुभएको हो । झापा ३ मा ५७ प्रतिशत अर्थात ४४ हजार ६१४ मत ल्याएर लिङ्देन विजयी हुँदा नेता सिटौला १३ हजार मतान्तरले पराजित हुनुभएको थियो ।

सिटौलालाई पराजित भएर सङ्घीय संसद्को रुपमा शपथ ग्रहण गर्दा निर्वाचित १७५ जनाभन्दा फरक भाषाको प्रयोग गर्नुभएको थियो । सबै संसदले सांसद सचिवालयले तयार पारेको एकै बेहोरामा शपथ लिए पनि लिङ्देनले ‘भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु सरह’ भएको व्यहोराको शपथ खाएपछि उहाँको चर्चा भएको थियो ।

राप्रपामा एक दशकपछि नेतृत्व परिर्वतन हुँदा केही आशंका उठे पनि पार्टीको एजेण्डा झन् प्रभावकारी बन्दै जाने राजनीतिक विश्लेषक प्रा.लोकराज बरालको भनाइ छ । आम कार्यकर्तालाई दिएको प्रतिबद्धता र लिङ्देनको अनुशासित राजनीतिक यात्राले पार्टी एजेण्डा र मुद्दामा कुनै शङ्का गर्ने ठाउँ नभएको उहाँको बुझाइ छ ।

‘नेतृत्व परिवर्तनले राप्रपामा खासै भिन्नता हुँदैनतर आन्तरिक कलहको विजारोपण झन् बढ्नसक्छ’, डा. बराल भन्नुहुन्छ, ‘लिम्बू परिवारबाट राजनीतिक नेतृत्व भएसँगै हिन्दुराज्य र राजतन्त्रको मुद्दा कतै ओझेलमा पर्ने त होइन भन्ने आवाज उठ्न थाले पनि लिङ्देनले आम कार्यकर्तालाई दिएको प्रतिबद्धता र लिङ्देनको अनुशासित राजनीतिले गर्दा पार्टीको एजेण्डा र मुद्दामा कुनै शङ्का गर्ने ठाउँ छैन ।’ राप्रपामा लिङ्देनको अगुवाइमा लोकतान्त्रिक अभ्यास सुरु भएको उहाँले बताउनुभयो । ‘यो परिवर्तनलाई राप्रपामा पनि लाेकतान्त्रिक अभ्यास शुरु भएको छ’, बराल भन्नुहुन्छ ।

लिङ्देनको राजनीतिक यात्रा

राजेन्द्रप्रसाद लिङ्देन वि. सं. २०२२ सालमा ताप्लेजुङको ढुङ्गेसाँघुमा जन्मनुभएको हो । स्थायी घर पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिका १ (साविक अमरपुर गाविस ३) मा भए पनि प्रहरीमा जागिरे बुवा मानप्रसाद लिङ्देनसँगै आमा धनकुमरी ताप्लेजुङ पुग्नुभएको समयमा उतै जन्मनुभएको हो । कक्षा तीनसम्मको औपचारिक शिक्षा पाँचथरको अमरपुरमा लिएपछि उहाँको बाल्यकाल झापामा बितेको थियो । २०३६ सालबाट राजनीतिक यात्रा सुरु गर्नुभएका लिङ्देनले राजनीतिशास्त्र र इतिहासमा स्नातकोत्तर गर्नुभएको छ ।

झापाको हल्दिबारी गाउँपालिका–१ घर भएका लिङ्देन २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली काँग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई हराएर चर्चित बन्नुभएको हो । २०३६ सालमा राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलमा आबद्ध बन्नुभएका उहाँ २०४७ सालमा पार्टीको झापा सचिव बन्नुभएको थियो । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको लिङ्देन २०४९ सालको संस्थापक अध्यक्ष हुँदै पार्टीको केन्द्रीय तहमा उहाँ २०७१ सालमा सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित बन्नुभएको थियो ।

स्थानीय निकायको निर्वाचनमा तत्कालीन गोलधाप गाविस वडा नम्बर–३ बाट २ पटकसम्म वडाध्यक्ष, झापा जिल्लाको सभापति बन्नुभएका उहाँ राजनीतिक आन्दोलनकै क्रममा हिरासत जीवन बिताउनुभएको छ । उहाँ आफूलाई कुसल नेता र विकास अभियन्ताको रुपमा चिनाउनुहुन्छ ।

पार्टीमा सदस्य, महामन्त्रीलगायत जिम्मेवारी सम्हालिसक्नुभएका ५६ वर्र्षीय लिङ्देनले पार्टीको एकता महाधिवेशनबाट कमल थापालाई पराजित गर्नुभयो । गणतन्त्र विरोधी राजनीतिक मुद्दामा आफ्नो अडान राख्दै आए पनि राप्रपाले उहाँलाई आशलाग्दो नेताका रूपमा अगाडि सारेको छ ।