१४ बैशाख २०८१, शुक्रबार

चालु आर्थिक वर्षभित्रै रेल अञ्चालन हुन्छ : यातायातमन्त्री यादव

61a6085566804 mantri renu

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले चालु आर्थिक वर्षभित्रै रेल सञ्चालन गर्ने लक्ष्य रहेको बताउनुभयो ।

मंगलबार प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामस्थित जयनगर–जनकपुर रेल्वेको ट्रयाकस्थलको निरीक्षण गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री यादवले यसैवर्ष रेल सञ्चालनमा ल्याउने प्रयास भइरहेको बताउनुभएको हो ।

‘विवाह पञ्चमी अघि रेल सञ्चालन गर्न सम्भव छैन’, मन्त्री यादवले भन्नुभयो, ‘जनताको भावनालाई मध्यनजर गर्दै रेल सञ्चालनमा ल्याउने गरी आवश्यक प्रक्रिया अगाडि बढिसकेको छ ।’

मन्त्री यादवले, केही कागजी प्रक्रिया मात्र बाँकी रहेको र आफू काठमाडौं पुगेर आवश्यक कागजमा हस्ताक्षर गर्ने बताउनुभयो ।

यसैगरी, नेपाल रेल्वेका महाप्रबन्धक निरञ्जन झाले रेल सञ्चालन सम्बन्धी कार्यविधि तयार भइसके पनि कर्मचारी व्यवस्थापन, कानुन र भाडादर निर्धारण गर्ने काम बाँकी रहेको बताउनुभयो ।

भारतीय कम्पनीलाई विगत ८ महिनादेखि थन्काएर राखिएको रेलसेटको प्राविधिक जाँचका लागि पत्राचार गरिसकेको र प्राविधिक रिपोर्ट तयार गरेर दिएपछि मात्र रेलको विषयमा औपचारिक जानकारी दिने उहाँको भनाइ छ ।

नेपाल सरकारले गत वर्ष असोज २ गते नेपाल सरकारले खरिद गरेको दुई सेट रेल हाल धनुषाको ईनर्वा स्टेशनमा सशस्त्र प्रहरीको निगरानीमा राखिएको छ ।