८ बैशाख २०८१, शनिबार

काँग्रेस कमजोर बने प्रणाली कमजोर हुन्छ : नेता सिंह

Prakash man singh1

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रियता, प्रजातन्त्र र समाजवादबाट नेपाली काँग्रेस विचलित हुन नहुने बताउनुभएको छ ।

आज काठमाडौँमा नेपाली काँग्रेसका नेता लोकेस ढकालद्वारा लिखित नेपाली राजनीति, राष्ट्रप्रेम, विचार र आदर्श नामक पुस्तकको लोकार्पण गर्दै नेता सिंहले नेपालका राजनीतिक दलहरू जनता र देशको हित भन्दा व्यक्तिगत स्वार्थमा लागेकोप्रति जनताहरूले चिन्ता व्यक्त गरेको बताउनुभयो ।

उहाँले नेपालको राजनीतिक दलका प्रमुखहरू सत्तामा पुगेपछि राज्य दोहनमा लाग्ने गरेको प्रति चिन्ता व्यक्त गर्दै त्यस्तो परिपाटीको अन्त गरिनुपर्ने बताउनुभयो ।

नेता सिंहले नेपाली काँग्रेसको सुधार गरी पार्टीलाई सङ्गठित र व्यवस्थित गर्नको लागि आफूले पार्टी अध्यक्षमा उम्मेदवारी दिन लागेको भन्दै कार्यकर्ताले आफूलाई विजयी बनाएमा काँग्रेसलाई सही दिशा निर्देश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेता सिंहले २०४६ सालपछि पार्टी मूल्य मान्यताको राजनीति छाडी सत्ताको राजनीतिमा होमिएको कारण नेपाली काँग्रेस बदनाम हुँदै गएको भन्दै प्राप्त उपलब्धिलाई संस्थागत गर्न नसके प्रणालीमाथि नै प्रश्न चिन्ह उठ्ने बताउनुभयो ।

पार्टी अध्यक्षको उम्मेदवारी का विषयमा नेता सिंहले नेपाली काँग्रेसभित्र देखिएको बेथितिलाई अन्त्य गरी सुधारका कार्यक्रम ल्याउन जरुरी रहेको भन्दै पार्टीमा धनवाद र डनवादले प्रश्रय पाएकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले नेपालको राजनीतिमा नेपाली काँग्रेस कमजोर बन्यो भने राजनीतिक प्रणाली नै कमजोर हुने भन्दै नेपाली काँग्रेस एक ढिक्का भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ पत्रकार युवराज घिमिरे, संविधानविद् विपिन अधिकारी, काँग्रेस नेता लक्ष्मण घिमिरे लगायतले पुस्तकको समीक्षा गर्दै नेपाली काँग्रेसले बिपी, गणेशमान र कृष्णप्रसादले देखाएको विचार र बाटोमा हिँड्न नसकेकाले राष्ट्रियता कमजोर बन्दै गएको उल्लेख गर्नुभयो ।

उहाँहरूले नेपाली काँग्रेसले राजनैतिक धर्म र आफ्नो विचारबाट विचलित भएका कारण आम नागरिकमा वितृष्णा छाएको उल्लेख गर्दै जुन दुखद विषय रहेको धारणा राख्नुभएको थियो ।