१४ बैशाख २०८१, शुक्रबार

न्यायाधीशहरू इजलासमा र कानुन व्यवसायीहरू बहसमा सहभागी नभएपछि इजलास बस्न सकेन

suprem court

न्यायाधीशहरूको अघोषित इजलास बहिष्कार र नेपाल बार एशोसिएशनको आन्दोलनका कारण सर्वोच्च अदालतमा आज कुनै पनि इजलास बस्न सकेन ।

न्यायाधीशहरुले अघोषित इजलास बहिस्कार गर्दै आएको र कानुन व्यवसायी समेत बहसमा सहभागी नभएपछि आज कुनै पनि इजलास बस्न नसकेको हो ।

सर्वोच्चले आजका ८ वटा इजलासमा २ सय २३ मुद्दाको पेशी तोकेको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले यसअघि आफ्नो समेत इजलास राख्दै आएकोमा आज भने आफूलाई इजलासबाट अलग गर्नुभएको थियो ।

यसैबीच, प्रधानन्यायाधीश जबराको राजीनामा मागेर निरन्तर विरोधमा उत्रिएको नेपाल बार एशोसिएशनले आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अदालत प्रवेशमा रोक लगाएको छ ।

बार एशोसिएसनले आज सर्वोच्चको मूल गेटमा धर्ना दिँदै सर्वोच्च प्रवेश गर्न नदिएपछि प्रधानन्यायाधीश जबरा अर्को गेट प्रयोग गरी सर्वोच्च प्रवेश गर्नुभएको थियो ।

बिहीबार सर्वोच्च परिसरमा कानुन व्यवसायीमाथि प्रहरीले हस्तक्षेप गरेपछि त्यसको विरोधमा हिजो नेपाल बारले बन्दी प्रत्यक्षीकरणसहित कुनै पनि मुद्दाका बहस नगर्ने घोषणा गरेको थियो ।

नेपाल बारले धर्नापछि राखेको सभामा कानून व्यवसायीहरूले नेपाल बार र सर्वोच्चका न्यायाधीशहरूको समेत अविश्वासमा रहेका प्रधानन्यायाधीश जबराका बारेमा राजनीतिक दलहरू मौन बसेको भन्दै आपत्ति जनाएका छन् ।

प्रधानन्यायाधीश जबराको राजीनामा नआउन्जेलसम्म आन्दोलन जारी राख्ने भन्दै नेपाल बारले आइतबार पनि सर्वोच्च अदालतको मुख्य गेटमा धर्ना दिने जनाएको छ ।

प्रधानन्यायाधीश जबराले सत्तामा भाग खोजेर न्यायिक विचलन निम्त्याएको भन्दै न्यायाधीशहरू र नेपाल बार एशोसिएशन आन्दोलनमा छन् ।