१६ चैत्र २०८०, शुक्रबार

(भिडियो सहित) ‘हामीले ‘मुन्द्रेको कमेडी क्लब’ आजबाट बन्द गर्ने निर्णय गरेका छौँ: जीतु नेपाल

mundre

हास्यकलाकार जीतु नेपालले संचालन गर्दै आएको कमेडी रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’ आजदेखि सदाका लागि बन्द हुने भएको छ । संचालक जीतु नेपालले सोमबार एक पत्रकार भेटघाट गर्दै शो बन्द गर्ने घोषणा गरे ।

शो का प्रस्तोता एवं हास्यकलाकार जीतु नेपाल ‘मुन्द्रे’ले १ सय ३२ भाग प्रशारणसँगै कार्यक्रम बन्द हुने घोषणा गरेका छन् । शो लाई निर्माण गरिरहेको कम्पनी ‘कि एडभर्टाइजिङ’ले फूलन्देकी आमा (उमेश राई) लाई प्रस्तोता बनाई अर्को टेलिभिजन शो घोषणा गरेपछि आफूले ‘मुन्द्रेको कमेडी क्लब’लाई बन्द गर्ने निर्णय लिएको उनी बताउँछन् ।

प्रत्येक सोमबार साँझ ८:५० मा नेपाल टेलिभिजनबाट प्रसारण हुने गरेको शोको अन्तिम भाग आज प्रसारण हुनेछ ।

‘हामीले ‘मुन्द्रेको कमेडी क्लब’ आजबाट बन्द गर्ने निर्णय गरेका छौँ । अब दर्शकसँग अर्काे कुनै कार्यक्रममा भेट हुनेछ,’ नेपालले भने, ‘कसैका कारणले भन्दा पनि हामी आफैँले बन्द गर्ने निर्णय गरेका हौँ । दोष कसैलाई दिन चाहन्नौं ।’ ‘अहिलेका रियालिटी शो भनिएका कार्यक्रम २६–२७ भागमा सकिने गरेको छ । हामीले धेरै दुःखले अहिलेसम्म तान्यौँ, ’ जीतुले थपे, ‘दुःख धेरै थियो । म बन्द गर्न चाहन्थे, टिम वर्कमा पनि गडबडी भयो । बन्द गर्ने बहाना पनि मिल्यो ।’

‘म जुन कम्पनीसँग आबद्ध छु त्यो कम्पनीले अचानक फूलन्देकी आमालाई लिएर अर्को टेलिभिजन शो गर्ने घोषणा गर्दा म त छक्क परें । सुरुमा त पत्याइनँ । तर भाइले उक्त कार्यक्रममा सम्झौता गरिसकेको बतायो । उसले मलाई कुनै धोका दिएको होइन । त्यो त उसको अधिकारको कुरा हो,’ काठमाडौंमा पत्रकारहरूसँगको भेटघाटमा जीतुले भने, ‘उसले मसँग सम्झौता गरेको थिएन । शशीजीसँग कुरा राखें । उहाँले ‘उमेशले उतै कार्यक्रम चलाउँछ, तपाईं मिलाउनुस् भन्नुहुँदा मनमा केही चित्त दुख्यो । फूलन्देकी आमाबिना कार्यक्रम गर्नै नसकिने भन्ने होइन । तर मैले राम्रो गरिरहेको छु । रोइकराइ, रातभरी नसुती एपिसोड गरिरहेको छु, विज्ञापन आइरहेका छन् । तर मेरो तारिफ पाउनुको सट्टा टिममै खटपट देखिएपछि मैले ब्रेक लिने सोचें ।’

कि एभरटाइजमेन्ट एजेन्सीले निर्माण गर्दै आएको यो कार्यक्रमबाट ‘फुलन्देकी आमा’ को भूमिका निर्वाह गर्दै आएका उमेश राई केहीअघि नै बाहिरिइसकेका छन् । तर, जितुले एक कलाकारले छाडेको कारण कार्यक्रम बन्द गर्ने अवस्थामा आफू नपुगेको जीतुले बताए । ‘उमेश राईले छोडेर कार्यक्रम बन्द गर्नु परेको होइन, कलाकार अर्काे लिएर पनि कार्यक्रम गर्न सकिन्थ्यो’ नेपालले भने, ‘मेरो गुनासो निर्माण एजेन्सीसँग हो । एजेन्सीले मसँग सल्लाह नगरी मेरो कार्यक्रमको कलाकार निकालेर अर्काे टेलिभिजनमा कार्यक्रम बनायो ।’ करिब ३०–४० जनाले रोजगारी पाएको कार्यक्रम बन्द गर्नुपर्दा आफूलाई पनि दुःख लागेको उनले बताए ।

यस्तै शोमा अध्यक्षको भूमिकामा देखिँदै आएकी अभिनेत्री करिश्मा मानन्धरले पनि शो बन्द हुने अवस्थाले आफू दुखी भएको बताइन् । ‘शोले मलाई चलचित्रले चिनाउन नसकेको दर्शकसम्म पनि पुर्याएको थियो’ मानन्धरले भनिन् ‘जीतुले यो शो बन्द गरेपनि अर्काे जुनै काममा सम्झिए पनि मेरो साथ रहनेछ ।’ जीतुले अब गर्ने कार्यक्रममा आफ्नो सबै प्रकारको सहयोग रहने करिश्माले बताइन् ।