६ बैशाख २०८१, बिहीबार

दुर्व्यवहार गरेको घटना सेलाउन नपाउँदै फेरि बोक्सा–बोक्सीको आरोपमा मलमूत्र खुवाएर कुटपिट

Capture 5

महोत्तरीमा बोक्सीको आरोपमा एक महिलाको हत्या र अर्की एक महिलामाथि दुर्व्यवहार गरेको घटना सेलाउन नपाउँदै फेरि यस्तै घटना दोहोरिएको छ । एक पुरुष र महिलालाई बोक्सोबोक्सीको आरोपमा मलमूत्र खुवाएर कुटपिट गरेको घटना बाहिरिएको हो । पीडित पुरुष र महिला नातामा देवर भाउजु हुन् ।

बोक्सी भन्दै महोत्तरीको महोत्तरी गाउँपालिका–३ मडईमा भाउजुको हत्या गर्ने देवरको मुद्दामा अनुसन्धान चलिरहेको छ । बोक्सी आरोपमै जलेश्वर–४ की सुकमरिया देवीलाई चरम दुर्व्यवहार गरेको घटनामा समेत स्थानीयहरुले भर्खरै मात्र प्रहरीमा बयान दिएका छन् ।

प्रहरीले यो मुद्दामा समेत अनुसन्धान अन्तिम अवस्थामा पुगिसकेको बताएको छ । तर यी घटनाहरु ताजै रहेका बेला जिल्लामा फेरि दुई जनामाथि बोक्साबोक्सीको आरोपमा दुर्व्यवहार भएको घटना सार्वजनिक भएको छ ।

बिहीबार साँझ औरही नगरपालिका–९ अगलेसरा का ५५ वर्षीय झवसी ठाकुर (लोहार) र उनकी भाउजु ५६ वर्षीया सुनैना देवी ठाकुरलाई स्थानीय राम कलेवर मण्डलकी श्रीमती ३५ वर्षीया रामशिला देवी मण्डल लगायतका केही व्यक्तिले मलमूत्र खुवाएर कुटपिट र लुटपाट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी परेको छ । जाहेरी दर्ता गर्न प्रहरीले घाउ जाँच लगायतका प्रकृया अघि बढाएको छ भने आरोपी रामशिलालाई नियन्त्रणमा लिएको छ ।

बोक्सीको आरोपमा देवर–भाउजुलाई दुर्व्यवहार गर्ने रामशिला देवी मण्डल बाहेकका आरोपी फरार छन् ।

बोक्सीको आरोपमा दुर्व्यवहार भइरहेको घटना गाउँमा फैलिएपछि स्थानीयले कुटपिट रोकेर पीडितलाई एक निजी क्लिनिकमा लगेका थिए ।

घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान अगाडि बढाइएको प्रहरीको दाबी छ ।

महोत्तरीमा बोक्सीको आरोपमा एकपछि अर्को व्यक्तिमाथि दुर्व्यवहारदेखि हत्यासम्मका घटना भइरहेका छन् । तर सरोकारवाला निकायहरुको बेवास्ताले घटना रोकिनेभन्दा पनि पीडकहरु झनै हौसिने गरेको देखिन्छ ।

बोक्सीको आरोपमा भइरहने यस्ता घटना दोहिरिन नदिन कडा कानुनी कारबाहीदेखि जनचेतनासम्मका कार्यक्रममा स्थानीयदेखि प्रदेश र संघीय सरकारले पनि बेवास्ता गरेको देखिन्छ ।