१३ बैशाख २०८१, बिहीबार

संवैधानिक प्रक्रियाबाटै अघि बढ्न विप्लवसगँ निरन्तर छलफल भइरहेको छ : गृहमन्त्री

Balkrishna khad 1
फाइल फोटो

प्रधानमन्त्रीको समेत कार्यभार सम्हाल्नु भएका गृहमन्त्री बालकृष्ण खाँणले नेत्रविक्रम चन्द (विप्लव)को नेतृत्वमा रहेको नेकपासँग निरन्तर छलफल भइरहेको बताउनुभएको छ ।

गृह मन्त्रालयमा पत्रकारमाझ उहाँले प्रधानमन्त्री, गृहमन्त्री र कानुनमन्त्री र विप्लवको निरन्तर वार्ता भइरहेको, नयाँ सरकार गठनपछि विप्लव समूहले सत्तारुढ दल र प्रतिपक्षीसँग पनि संवाद गर्नुभएको बताउनुभएकाे हाे ।

विप्लवको नेतृत्वमा रहेको नेकपाका तर्फबाट खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ वार्ताका लागि तोकिनुभएको छ । गृहमन्त्री खाँणले सबै राजनीतिक दलसँग संवाद र छलफल गरी शान्ति प्रक्रियालाई निष्कर्षमै पुर्याएर मुलुकमा शान्ति स्थापना गर्न सरकार दृढ रहेको बताउनुभयो ।

चन्द समूहका नेतबा तथा कार्यकर्तामाथि लागेका मुद्दा कानुनी प्रक्रियाबाटै फिर्ता लिन र टुङ्ग्याउन तथा बन्दीको रिहाइ प्रक्रियागतरूपमा गर्न गृहकार्य भइरहेको पनि सो अवसरमा जानकारी दिइयो । महान्यायाधिवक्ता, गृहमन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले कति बन्दी छन्, उहाँहरूको कानुनी अवस्था कस्तो छ भन्ने अध्ययन भइरहेका बताउँदै गृहमन्त्री खाँणले भन्नुभयो, “वार्तालाई अघि बढाउने सन्दर्भमा विषय केन्द्रित भएर छलफल गराैँ भन्ने भएको छ ।”

उहाँले भन्नुभयो, “एउटै व्यक्तिलाई छ/सातवटा समेत मुद्दा लागेको छ, बन्दीभन्दा धेरै मुद्दा भएकाले त्यसलाई कसरी सम्बोधन गर्ने भनेर छलफलमा छौँ । सरकारको निरन्तरता भएकाले पूर्ववर्ती सरकारले नेकपासँग गरेको तीन बुँदे सहमति कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताउँदै उहाँले विप्लव समूहलाई लगाइएको मुद्दा फिर्ता गर्ने र बन्दीलाई रिहाइ गर्ने मामिलामा सरकार क्रियाशील रहेको स्पष्ट पार्नुभयो ।

गृहमन्त्री खाँणले भन्नुभयो, “सरकार मुलुकमा शान्ति चाहन्छ, त्यसका लागि सबै राजनीति दल संवाद र वार्ताद्वारा राष्ट्रिय राजनीतिको मूलधारमा समावेश हुनुहोस्, संवैधानिक प्रक्रियाबाटै अघि बढौँ भन्ने हाम्रो प्रयत्न छ ।”