७ बैशाख २०८१, शुक्रबार

चौतर्फी दबाबमा रहेका प्रधानन्यायाधीशले सार्वजनिक गरे आफूबाहेकको पेसी

cholendra 1
फाइल फोटो

राजीनामा दिनुपर्ने चौतर्फी दबाबमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मंगलबार पनि मुद्दा सुनुवाइको पेसी सार्वजनिक गरेका छन् ।

कार्यपालिकामा भाग खोजेकोलगायतका विषयबाट विवादमा तानिएका जबराले आफूसँग असन्तुष्ट १४ जना न्यायाधीशका लागि मुद्दा सुनुवाइका लागि पेसी तोकेका हुन् । उनले आफ्ना लागि भने इजलासमा पेसी तोकेका छैनन् ।

असन्तुष्ट १४ जना न्यायाधीशसँग भेट गर्नुअघि उनले मुद्दा सुनुवाइका लागि पेसी तोके पनि सुनुवाइ भने अनिश्चित छ । प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुपर्ने माग राख्दै आएका १४ जना न्यायाधीश अघोषित इजलास बहिष्कारको अभियानमा छन् ।

प्रधानन्यायाधीशले आठवटा इजलासमा गरी दुई सय १६ मुद्दाको सुनुवाइका लागि पेसी तोकेका छन् । सोमबार पनि प्रधानन्यायाधीश जबराले आफूबाहेकका न्यायाधीशका लागि पेसी तोकेका थिए । तर, सुनुवाइ हुन सकेन ।