६ चैत्र २०८०, मंगलवार

लुक्ला, नाम्चेमा छायांकन सकेपछि मनाङ पुग्यो उचाइ युनिट

uchai

गत ४ अक्टोबरदेखि नेपालमा भारतीय फिल्म उचाइको छायांकन भइरहेको छ । काठमाडौँमा दुई दिनको छायांकन सकाएर हिमाली भेगतर्फ प्रस्थान गरेको टोलीले त्यहाँको सुन्दरता कैद गरिरहेको छ । लुक्ला, नाम्चेको छायांकन सकेपछि यतिबेला फिल्म युनिट मनाङको रमणीय दृश्य छायांकन गरिरहेको छ ।

आठ दिनको सेड्युल लिएर मनाङमा छायांकन सुरु गरिएको फिल्मका लागि नेपालका प्रोडक्सन म्यानेजर अरुण रेग्मीले बताएका छन् । उनले मौसमले केही समस्या ननिम्त्याए निर्धारित समयमै छायांकन सकेर फिल्म युनिट काठमाडौँ हुँदै भारत फर्किने बताए ।

“फिल्ममा नेपालको पर्यटनलाई टेवा पुग्ने किसिमले हिमाली सुन्दरता कैद भइरहेका छन्,” रेग्मी भन्छन्, “यो फिल्मपश्चात अन्य भारतीय व्यानर पनि छायांकनका लागि आउनेमा आशावादी छौँ ।

मित्रताको कथा भन्ने फिल्ममा अमिताभ बच्चन, डेनी डेन्जोङ्पा, अनुपम खेर, बोमन इरानी, परिणीति चोपडालगायतको अभिनय रहेको छ । यद्यपि नेपालमा अमिताभ बच्चन आएका छैनन् ।

चारजनाको मित्रताको कथा नेपालको हिमाली भेगमा बसोबास गर्ने डेनीसँग जोडिएर सुरु हुने बुझिएको छ । बलिउडको प्रसिद्ध व्यानर राजश्री प्रोडक्सनले निर्माण तथा सुरज बडजात्याको निर्देशनमा फिल्म तयार भइरहेको छ । नेपालमा ४० देखि ४५ दिनको छायांकन सेड्युल रहेको नेपालको लाइन प्रोड्युसर कम्पनी थ्री ह्विलर्स फिल्म्सका सुरज आचार्यले बताए । हिमाली भेगमा छायांकनको लागि ट्रेकिङ गाइड तिलकराम राईले सहयोग गरिरहेका छन् ।