२० बैशाख २०८१, बिहीबार

सरकारले गरेको लकडाउन उल्लंघन गरे के हुन्छ कारबाही?

high level commision corona

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलन नदिनका लागि सरकारले चैत ११ गतेदेखि १८ गतेसम्म लकडाउन घोषणा गरेको छ।

फ्रान्सबाट आएकी काठमाडौंकी महिलामा कोरोना संक्रमण देखिएपछि आज साझ बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले भोलि बिहान ६ बजेदेखि लागु हुनेगरी एक साताका लागि १८ गतेसम्म लक डाउन गर्ने निर्णय निर्णय गरेको हो।

कोरोना संक्रमण रोक्न विश्वका विभिन्न देशले लक डाउन गरेका छन्। लक डाउन पालना गर्न विभिन्न देशले महंगो जरिवाना र जेल सजायँसम्म व्यवस्था गरेका बेला नेपाल सरकारले पनि आदेशको अपहेलना गर्ने वा काममा बाधा पुर्‍याउने व्यक्तिलाई संक्रामक रोग ऐन २०२० अन्तर्गत कारवाही हुने जनाएको छ।

संक्रामक रोग ऐन, २०२० अनुसार लकडाउन अवधिमा सरकारले प्रतिबन्ध गरेका काम गरे १ महिनासम्म वा १ सय रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। ‘व्यवस्था अनुसार आदेशलाई अपहेलना गर्ने व्यक्तिउपर १ महिनासम्म कैद वा रु. १०० सम्म जरिवाना वा दुवै सजाय हुनेछ,’ ऐनमा उल्लेख छ। ऐनसम्बन्धी मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्ने व्यवस्था गरेको छ। 

यसका साथै तोकिएको काम गर्ने अधिकारीलाई बाधा पुर्‍याउनेलाई ६ महिनासम्म कैद वा ६ सय रुपैयाँसम्म जरिवाना वा दुवै हुने व्यवस्थासमेत गरेको छ।