१४ बैशाख २०८१, शुक्रबार

तथ्यांकअनुसार यी हुन् सबैभन्दा धेरै चोरीका घटना हुने ‘हटस्पट’

NEPAL POLICE

चाडपर्वका बेलामा चोरी,डकैती र पाकेटमारीका घटना बढी हुने गरेका छन् । यस्ता घटना काठमाडौं उपत्यकामा अझ बढी हुने गरेको प्रहारीको तथ्यांकले बताउँछ ।

तथ्यांकअनुसार सबैभन्दा धेरै चोरीका घटना काठमाडौं उपत्यकाभित्र भएको देखिन्छ । काठमाडौंमा पाँच सय ७३ चोरीका घटना भएका छन् । त्यसपछि सबैभन्दा धेरै चोरी प्रदेश २ मा हुने गरेको तथ्यांकबाट देखिन्छ । प्रदेश २ मा पाँच सय ६५, प्रदेश १ मा चार सय ३८, लुम्बिनीमा दुई सय ५६, बाग्मतीमा दुई सय २०, लुम्बिनीमा एक सय ५६, सुदूरपश्चिममा एक सय ५४ र कर्णाली प्रदेशमा ५१ चोरीका घटना भएका छन् ।

नेपाल प्रहरीले उपत्यकाभित्र चोरी हुने १३ क्षेत्रका विभिन्न स्थानलाई ‘हटस्पट’ मानेर सोहीअनुसारको सुरक्षाको व्यवस्था मिलाएको छ ।

चाडपर्वका वेला हुने चोरी, डकैती र पाकेटमारी रोक्न प्रहरीले काठमाडौं उपत्यकाभित्रका १३ क्षेत्रलाई ‘ब्ल्याक’, ‘रेड’, ‘यल्लो’ र ‘ग्रिन जोन’मा विभाजन गरी सुरक्षा प्रबन्ध कडा परेको हो ।

‘ब्ल्याक जोन’

‘ब्ल्याक जोन’अन्तर्गत सर्वसाधारणको अव्यवस्थित भिड हुने क्षेत्र पर्छन् । यस्ता ठाउँलार्ई सिसिटिभीले मुस्किलले कभरेज गर्न सक्ने भएकाले सुरक्षाका दृष्टिले निकै चुनौतिपूर्ण मानिन्छ । सबै बसपार्क, न्युरोड, भोटाहिटी, असन, महाबौद्ध, सुन्धारा, रञ्जना गल्ली, वीर अस्पताल ‘ब्ल्याक जोन’ मा पर्दछन् । यस्ता क्षेत्रमा चोरी र पाकेटमारका घटना धेरै हुने भएकाले प्रहरीले यस क्षेत्रलाई संवेदनशील क्षेत्र मानेको छ ।

‘रेडजोन’

‘रेडजोन’ मा सपिङ कम्प्लेक्स, ठूला मल, सिनेमा हल, व्यापारिक क्षेत्र पर्छन् । यी क्षेत्रलाई सिसिटिभीले कभरेज गर्न सक्छ । महाराजगन्ज, कालीमाटी, बौद्ध, गौशाला, कमलपोखरी, दरबारमार्गलगायतका क्षेत्रलाई ‘रेडजोन’ मा राखिएको छ । यस क्षेत्रमा पनि पोसाक र विनापोसाक दुवै खालका प्रहरी खटिएका छन् ।

‘यल्लो जोन’

‘यल्लो जोन’ अन्तर्गत विशेष अवसरमा सर्वसाधारणको भिड हुने क्षेत्रलाई तोकिएको छ । चक्रपथबाहिरका ग्रामीण क्षेत्र जस्तै थानकोट, कीर्तिपुर, बालाजु यसअन्तर्गत राखिएका छन् । जहाँ बेलाबखत चोरी र पाकेटमारी हुने गर्छन् ।

ग्रिन जोन’

सुरक्षाका दृष्टिले कम संवेदनशील क्षेत्रलाई ‘ग्रिन जोन’ मा राखिएको छ ।
सुरक्षाकर्मीको कार्यालय, कूटनीतिक नियोग, भिआइपी तथा भिभिआइपीको निवास क्षेत्रलाई ‘ग्रिन जोन’अन्तर्गत राखिएको छ । जहाँ चोरी, डकैती र पाकेटमारीका घटना न्यून हुने गर्छन् ।

उपत्यकाभित्र चोरी हुने ‘हटस्पट’

महाराजगन्ज : धापासी, हेपाली हाइट, टोखा, ग्रिनल्यान्ड, भंगाल, सुकेधारा, नयाँ बसपार्क, गोंगबु

कालीमाटी : बाफल, छाउनी, कुलेश्वर, डल्लु, सतुंगल, त्रिपुरेश्वर, भोटेबहाल

बालाजु : नेपालटार, हिलेटोल, मनमैजु, बोहराटार, धर्मस्थली, शेषमती, माछापोखरी

स्वयम्भू : सीतापाइला, छाउनी, ढल्कु, डल्लु, पद्यमा कोलोनी, ठूलोभ¥याङ, सानोभ¥याङ, इचंगुनारायण

बौद्ध : कपन, फूलबारी, अत्तरखेल, नयाँबस्ती, मूलपानी, जोरपाटी

गौशाला : कुमारीगल, कालोपुल, रातोपुल, सिफल, सिनामंगल

बानेश्वर : शंखमूल, शान्तिनगर, बुद्धनगर, मध्यबानेश्वर, बाटेश्वर, पोप्सीकोला, नरेफाँट, गोठाटार

जनसेवा : युरोड, रञ्जना गल्ली, वीर अस्पताल, महाबौद्ध, पुरानो बसपार्क, सुन्धारा

लैनचौर : ठमेल क्षेत्र, खुसिबु क्षेत्र, नयाँ बजार, गल्कोपाखा

कमलपोखरी : पासाङ ल्हामु चोक, मैतीदेवी, हाँडीगाउँ, भाटभटेनी

दरबारमार्ग : लाजिम्पाट, खोर्सानीटार, दरबारमार्ग क्षेत्र

थानकोट : मातातीर्थ, नैकाप, सतुंगल, ढुंगेअड्डा

कीर्तिपुर: ट्याङ्लाफाँट, पाँगा, मच्छेगाउँ