१६ चैत्र २०८०, शुक्रबार

सत्ता गढबन्धनभित्रै असन्तुष्टि गण्डकीमा, नयाँ गठबन्धन बनाउने चेतावनी

gandaki pradesh

गण्डकीमा नयाँ मन्त्रिमण्डल विस्तार गर्दा सल्लाह नभएको भन्दै सत्ता साझेदार दलहरूबीच नै मनमुटाव सुरु भएको छ । नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले मन्त्री नियुक्तीमा असहमति जनाएका हुन् ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले केन्द्रको सहमति भन्दै डोबाटे विश्वकर्मालाई बिना विभागीय मन्त्री नियुक्त गरेपछि कांग्रेस बाहेकका दलहरू असन्तुष्ट बनेका छन् । शपथ ग्रहण कार्यक्रममा सत्ता साझेदार दल माओवादी, जसपा र सरकारको समर्थक दल जनमोर्चा उपस्थित भएन ।

“हाम्रो सहमति नै छैन । त्यसैले शपथमा पनि गइएन । कुरा चाहिँ केन्द्रमै भएको भन्नुभएको छ, मुख्यमन्त्रीले । केन्द्रमा कुरा भएको भए हामीलाई पनि जानकारी हुनुपर्ने हो । पार्टीले केही भनेको छैन,” माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले भने, “यसो बुझ्दा व्यवस्थापन माधव नेपाल पक्षको पनि गर्नुपर्ने हुन्छ । हाम्रो पनि व्यवस्थापन गर्नुपर्‍यो । मन्त्री थप्न १२ भन्दा पाइन्न । अब माओवादी र माधव पक्षको व्यवस्थापन मिलाउनुपर्ने भएकोले हतार नगर्न भनेको थिँए । पटक-पटक भने । मुख्यमन्त्रीले सुन्नुभएन ।”

माओवादी प्रमुख सत्ता साझेदार दल हो । “यो नियुक्तीमा हाम्रो सहमति छैन । केन्द्रले मिलाएको हो भने, खबर गरोस् । अध्यक्षले मलाई सिधैँ भन्नुपर्ने हो,” चुमानले भने, “हामीलाई कांग्रेसले मिचेर गएको महसुस भयो । यसरी नै जाने हो भने, के–के हुन्छ के–के । गठबन्धन भएपछि सहमतिमा गर्नुपर्‍यो नि त । भोलि के गर्ने भन्ने निर्णय लिएको छैन । हामी पनि बुझ्दै छौँ ।”

कांग्रेसले योसँगै ६ वटा मन्त्रालय पाएको छ । माओवादीका चार, जसपाका एक र अर्को एक जना स्वतन्त्र सांसद मन्त्री बनेका छन् । जसपाका नेता तथा ऊर्जा मन्त्री हरिशरण आचार्यले कांग्रेसले मनलाग्दी गरेको आरोप लगाए । “अनौपचारिक रुपमा जानकारी मात्रै भयो । औपचारिक कुरा भएको छैन । म्यासेज आएपछि मात्रै जानकारी भयो,” उनले भने, “क्याबिनेटमै पनि तपाईंहरू मात्रै गर्नुस् भनेर निस्कियौं । कांग्रेसको मात्रै जस्तो सरकार भयो । म केही समय नबोली बसेको थिएँ, बोल्न बाध्य बनायो ।”

उनले कांग्रेसविरुद्ध फरक मोर्चा बनाउने चेतावनी दिएका छन् । “हिजो केपी ओलीले संविधान नमान्दा संविधान मान्नेहरूको एलाइन्स बन्यो । आज गठबन्धनको मूल्यमान्यता विपरीत गए लोकतन्त्रको उपहास गर्ने विरुद्ध मोर्चा बन्छ,” उनले भने, “फरक एलाइन्स बन्न सक्छ । कांग्रेसविरुद्धमा अर्को मोर्चा बन्छ । कांग्रेसले हेप्यो, माओवादी र जसपासँग मतलब भएन ।” जसपालाई दुई मन्त्रालय दिने लिखित सहमति तोडेर कांग्रेसले आफ्नो मात्रै मन्त्री थपेको छ । जनमोर्चा पनि सरकारको निर्णयप्रति सन्तुष्ट देखिँदैन । गण्डकीमा सत्तारुढ कांग्रेसको १५, माओवादीको १२, जसपा दुई, जनमोर्चा तीन (एक कारबाही) र एक स्वतन्त्र सांसद गठबन्धनमा छन् । एमालेका २७ सांसद प्रतिपक्षमा छन् ।