७ बैशाख २०८१, शुक्रबार

हराएको ५५ वर्षपछि घर फर्किए गंगाबहादुर गुरुङ

ganga bhadur e1633565588170

म्याग्दीको बेनी नगरपालिका–४ थामडाडाका गंगबहादुर गुरुङ हराएको ५५ वर्षपछि घर फर्किएका छन् ।

बि।सं। २०२३ मा २० वर्षको उमेरमा घर छाडेका ७५ वर्षीय गुरुङ घर फर्किएपछि परिवार र आफन्तमा खुसीयाली छाएको छ । कैलालीको चुरे गाउँपालिका–३ मत्स्य भन्ने ठाउँमा बस्दै आएका गुरुङलाई भतिज शेरबहादुरले मंगलबार जन्मथलोमा ल्याएर आएका हुन् ।

सामाजिक सञ्जाल ‘फेसबुक’मा ठूलो बुवाको तस्बिर देखेपछि करिब दुई महिनाको प्रयासपछि पहिचान गरेर घर ल्याएको शेरबहादुरले बताए । ुफेसबुकमा तस्बिर देखेपछि हराएका ठुलोबुवालाई पहिचान गरेर ल्याएर आएको हो, शेरबहादुरले भने, हामी नजन्मँदै घर छाडेर जानुभएका ठुलोबुवालाई जीवितै भेटाउँदा खुसी छौ ।

भरिया काम गर्ने क्रममा बुटवल पुगेका जंगबहादुरको पूर्व–पश्चिम राजमार्ग निर्माण कार्यमा मजदुरको रूपमा काम गर्दै डडेलधुरासम्म पुगेका थिए । डडेलधुराको पहाडमा सडक निर्माण गर्दा गुरुङले विस्फोट गराउने बलास्टरको काम गरेका थिए । उनी सानैदेखि डकर्मी पेसामा सिपालु थिए ।

‘सडक आयोजनाको काम सकिएपछि अलपत्र परेका थिए । यस क्षेत्रको एक्लो भएकाले त्यतिबेला घर फर्कने मेसो आएन’ उनले भने, ‘कैलालीका नरबहादुर शाहीका परिवारले संरक्षण गरेर राख्नुभयो ।’ अत्तरियामा व्यवसाय गर्दै आएका शाही परिवारले गुरुङलाई पहाडको घर र खेतबारीको संरक्षण गर्ने जिम्मेवारी दिएका थिए ।

त्यसअघि गुरुङलाई सात वर्ष आश्रय दिएका नरबहादुरका आफन्तले नागरिकता समेत दिलाइदिएका थिए । बुढेसकाल लागेपछि आफ्नो घर जाने र आफन्तलाई भेट्ने इच्छा राखेपछि मत्स्य गाउँका चक्रबहादुर खत्रीले गत साउन अन्तिम सातातिर सामाजिक सञ्जालमा गुरुङको तस्बिर र विवरण सार्वजनिक गरेका थिए ।

रेडक्रस सोसाइटीको खोज तथा उद्धार केन्द्रमार्फत म्याग्दीमा गंगबहादुरको परिवार खोजी गरिएको थियो । सम्पर्कमा आएका आफन्त र गंगबहादुरबीच पहिलो चरणमा टेलिफोनमा कुराकानी गराइएको थियो ।

करिब ६० वटा आफन्तको नाम, पारिवारिक पृष्ठभूमि, तत्कालीन गाउँको अवस्था, छिमेकी आदिका बारेमा सोधेको प्रश्नमा जंगबहादुरले दिएको जवाफ मिलेपछि यकिन गरिएको थियो । थामडाडाका स्वर्गीय बलवीर गुरुङका चार भाइ छोरामध्ये गंगाबहादुर माइला हुन् ।

नेपाल रेडक्रस सोसाइटीको म्याग्दी र कैलाली शाखाको समन्वयमा गुरुङलाई परिवारमा पुनर्मिलन गराइएको म्याग्दी शाखाका सभापति लेखबहादुर हमालले बताए । ‘यस्तो अनौठो पारिवारिक पुनर्मिलनको घटना बिरलै हुने गर्छ,’ उनले भने, ‘गंगाबहादुरलाई कैलाली लिन जान र फर्कंदाको खर्च व्यवस्थापन गरेका छौ ।’

गंगबहादुरलाई मत्स्य गाउँका वडा अध्यक्षलगायत जनप्रतिनिधि र गाउँलेहरूले कार्यालयमै औपचारिक कार्यक्रम गरेर बिदाइ गरेका थिए । मत्स्य गाउँका सबैको घरमा पुगेर बिदाइ भएका गुरुङले अत्तरिया पुगेपछि आफूलाई आश्रय दिने शाही परिवारलाई नभेटी आउन मानेका थिएनन् ।

भतिजले शाही परिवारलाई धन्यवाद दिएर बिदाइ गराएपछि मात्रै बेनी आउन मानेको उनले बताए । गंगबहादुरले विवाह गरेका छैनन् । ठूलोबुवालाई आफ्नै घरमा स्याहार सुसार गरेर पाल्ने शेरबहादुरले बताए ।

रेडक्रस म्याग्दी शाखाका अधिकृत धनञ्जयकुमार श्रेष्ठले रेडक्रसले विभिन्न कारणले हराएका व्यक्तिको खोजी गरे पनि बिरलै घटनामा सफलता मिल्ने र पारिवारिक पुनर्मिलन भएको बताए ।

रेडक्रसले समयमा सोधखोज गरेकाले गुरुङले जीवनको अन्तिम क्षणमा भए पनि आफन्त र जन्मथलोमा आउन पाएको श्रेष्ठले बताए ।