२० बैशाख २०८१, बिहीबार

अल्पमतमा पुगेको बागमती प्रदेश सरकारले विश्वासको मत लिने

Astha Laxmi Shakya

बागमती प्रदेशको सत्तारुढ दल नेकपा एमाले विभाजनसँगै अल्पमतमा पुगेको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारले प्रदेश सभाबाट विश्वासको मत लिने भएको छ ।

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री केशवराज पाण्डले मुख्यमन्त्री शाक्यले आगामी आइतबार विश्वासको मत लिन प्रदेश सभामा प्रस्ताव दर्ता गर्ने जानकारी दिनुभयो ।

उहाँले प्रदेश सभाको नवौँ अधिवेशन आइतबार दिउँसो ३ बजेको लागि आव्हान गरिएको जानकारी दिँदै आइतबार नै विश्वासको मत लिन प्रस्ताव दर्ता गर्ने तयारी भएको बताउनुभयो ।

बागमती प्रदेशको हेटौँडामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको नवौँ अधिवेशन आइतबार आव्हान गर्न प्रदेश प्रमुखलाई सिफारिश गर्ने निर्णय गरेको थियो ।

प्रदेश सभामा विश्वासको मत लिन प्रस्ताव दर्ता भएपछि प्रदेश सभाको बैठकमा टेबुल गर्न आवश्यक प्रक्रिया अगाडि बढाइने जनाइएको छ ।

नेकपा एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) ले निर्वाचन आयोगबाट दलको मान्यता पाएपछि शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।

प्रदेश सभामा एमालेको ५५ जना प्रदेश सभा सदस्य रहेकोमा विभाजनपछि १३ जना प्रदेश सभाका सदस्य एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलको बैठकले शाक्य नेतृत्वको सरकारलाई समर्थन नरहेको बागमती प्रदेश सभालाई जानकारी गराइसकेको छ ।

नेपालको संविधानको धारा १८८ को उपधारा २ मा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतको लागि प्रदेश सभा समक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था रहेको छ ।