६ बैशाख २०८१, बिहीबार

ईपीएलमा भैरहवाले काठमाडौंलाई हरायो, क्वालिफायर्समा पोखरासँग खेल्ने

एभरेष्ट प्रिमियर लीग (ईपीएल)अन्तर्गत एलिमिनेटरमा भैरहवा ग्लाडियटर्सले काठमाडौं किङ्स इलाभेनलाई १६ रनले हराउँदै क्वालिफायर्समा पोखरा राइनोजसँगको भेट पक्का गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको भैरहवाले पुरै २० ओभरमा ८ विकेट गुमाएर १ सय ८८ रन बनायो । भैरहवाका लागि ओपनर तमिम इकवाल ९ रनमै पेभेलियन फर्किए पनि अर्का ओपनर प्रदीप सिंह ऐरीले ३९ रन बनाए ।

त्यस्तै उपुल थरंगाले ३५ रन बनाउँदा १३ औं ओभरमा भैरहवाले ९५ रन बनाउँदा ४ विकेट गुमाईसकेको थियो । तर युवा ब्याटर कुशल मल्ल र कप्तान शरद भेषावकरले पाँचौं विकेटका लागि ६१ रनको साझेदारी गरे । कुशलले ३२ रन बनाउँदा अन्तिम ओभरको दोस्रो बलमा शरद ४९ रन बनाएर आउट भए ।

२० बलमा ७ चौका र ३ छक्का प्रहार गरेका शरद सन्दीप लामिछानेको बलमा छक्का प्रहार गर्ने धुनमा डिप मिड विकेटमा अमर सिंह राउटेलाबाट क्याच आउट भए । यससँगै इपिएल इतिहासकै सर्वाधिक छिटो अर्धशतकको कीर्तिमान बनाउनबाट शरद चुके ।

बलिङमा सन्दीप लामिछाने र असान प्रियंजनले २९२ विकेट लिए । १८९ रनको लक्ष्य पछ्याएको काठमाडौंले पुरै ओभर खेल्दा ८ विकेट गुमाएर १७२ रन मात्र बनायो । मध्यम सुरुवात गरेको काठमाडौंका राजु रिजाललाई कुशल मल्लले पाँचौं ओभरको तेस्रो बलमा भुवन कार्कीबाट क्याच आउट गराए ।

लगतै अर्को बलमा रायन वर्ल पनि आउट हुँदा काठमाडौं संकटमा पर्यो । त्यसपछि अमित श्रेष्ठ १९ र जनक प्रकाश २८ रनमा आउट हुँदा १७ औं ओभरको चौंथो बलमा धाम्मिका प्रसादले ओपनर असान प्रियंजनलाई बोल्ड गरे ।

४८ बलमा ५ चौका र ४ छक्का प्रहार गरेका प्रियंजनले ६८ रनको अर्धशतकीय पाली खेले । १८ औं ओभरको अन्तिम बलमा दिनेश अधिकारीसँग तालमेल नमिल्दा कप्तान सन्दीपले ६ रनमा रन आउट भए । लगतै अर्को ओभरमा दिनेश १५ रन बनाएर आउट भए ।

अन्तिम ओभरमा जितका लागि २४ रन चाहिएको काठमाडौंले त्यस ओभरमा ७ रन मात्र जोड्दा भैरहवा १६ रनले विजयी भयो । बलिङमा कुशल मल्ल, धाम्मिका प्रसाद र आरिफ शेखले २–२ विकेट लिए । अब भैरहवाले बिहिबार पोखरासँग क्वालिफार्यस खेल्नेछ ।