७ बैशाख २०८१, शुक्रबार

चितवन र पोखरा ईपीएलको उपाधिका लागि भिडने

Pokhara Rhinos vs Chitwan Tigers

चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधिका लागि चितवन र पोखरा भिडने भएका छन् ।

टियु क्रिकेट मैदानमा आज भएको दोस्रो क्वालिफायर खेलमा भैरहवा ग्लाडियसर्टलाई ७ विकेटले पराजित गर्दै पोखरा राइनोज उपाधि नजिक पुगेको हो । भैरहवाले दिएको १ सय २० रनको लक्ष्य पोखराले १८ ओभर २ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।

पोखराको जितमा सहन अर्चाचिगेले अविजित रहँदै ५३ रनको अर्धशतकीय इनिङ्स खेले । विपिन रावल ४० रनमा अविजित रहे । रिचर्ड लेभीले १४ र रित गौतमले ६ रन जोड्दा लोकेश बम शुन्य रनमा आउट भए ।

भैरहवाका भुवन कार्कीले २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले २० ओभरमा ६ विकेट गुमाएर १ सय १९ रन बनाएको थियो । भैरहवाका लागि कप्तान शरद भेषवाकरले अविजित रहँदै सर्वाधिक ३२ रन बनाए । त्यस्तै आरिफ शेख २७, रोहित पौडेल १८, प्रदिप ऐरी ११, उपुल थरंगा १०, धम्मिका प्रसाद ४, सर्भिन मुनिएण्डी ३ र कुशल मल्लले १ रन बनाए ।

पोखराका किशोर महतो र सहन अर्चाचिगेले समान २/२ विकेट हात पार्दा नन्दन यादव र असेला गुनारत्नेले १/१ विकेट लिए ।

यससँगै पोखरा पहिलो पटक ईपीएलको फाइनलमा पुगेको हो । अब पोखराले फाइनलमा चितवन टाइगर्ससँग शनिबार प्रतिस्पर्धा गर्नेछ ।

पहिलो क्वालिफायरमा पोखरा चितवनसँग नै पराजित भएको थियो । चितवन पनि पहिलो पटक फाइनलमा पुगेको हो ।

प्रतियोगिताको विजेताले ५० लाख र उपविजेताले १५ लाख पाउने छन् ।