१५ चैत्र २०८०, बिहीबार

यूईएफए च्याम्पियन्स लिग: रोनाल्डोको गोलका बाबजुद युनाइटेड स्तब्ध

ronaldo1631669648

यूईएफए च्याम्पियन्स लिग २०२१–२२ अन्तर्गत समूह चरणको पहिलो खेलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ ।

स्विजरल्याण्डमा भएको समूह ‘एफ’को खेलमा स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो प्रेरित युनाईटेड योङ ब्वाईजको घरेलु मैदानमा २-१ गोल अन्तरले स्तब्ध भएको हाे ।

खेलको १३औँ मिनेटमा गोल गर्दै रोनाल्डोले युनाईटेडलाई अग्रता दिलाएका थिए । रोनाल्डोले पोर्चुगिज सहकर्मी ब्रुनो फर्नाण्डेजको पास सदुपयोग गरेका थिए ।

खेलका ३५औँ मिनेटमा युनाइटेड १० खेलाडीमा सीमित भयो । आरोन वान विशाकाले रातो कार्ड पाएर मैदान छाडे । दोस्रो हाफमा योङ ब्वाईजले लगातार दुई गोल गर्‍याे । निकालोस नगामालेउले खेलको ६६औँ मिनेटमा बराबरी गोल गरे । थपिएको पाँच मिनेटमा जोर्डन सिएबात्चेउले गोल गर्दै घरेलु टोली योङ बाईजलाई रोमाञ्चक जित दिलाए ।

समूह ‘एफ’को अर्काे खेलमा भिल्लारियल र एटालान्टाले २-२ गोलको बराबरी खेल्दै अंक बाँडे ।

जितसँगै समूह ‘एफ’मा योङ ब्वाईज शीर्ष स्थानमा छ । यस्तै युनाइटेड भने पुछारमा छ । अंक बाँडेका एटालान्टा र भिल्लारियल भने दोस्रो र तेस्रो स्थानमा छन् ।

राति नै भएको समूह ‘जी’ मा दुबै खेल बराबरीमा टुंगिएका छन् । सेभिल्लाले रेडबुल साल्जबर्गसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँड्याे भने लिल्ले र वुल्फस्बर्गले गोलरहीत बराबरी खेले ।