६ चैत्र २०८०, मंगलवार

आजदेखि शुरु कक्षा १२ को परीक्षा, अध्ययनरत विद्यालयमा सेन्टर

12

कक्षा १२ को बार्षिक परीक्षा आजबाट सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा आजदेखि शुरु गर्दैछ । कोरोना भाइरस संक्रमण फैलिएसँगै रोकिएको परीक्षा आजबाट सुरु हुन लागेको हो ।

परीक्षा असोज ८ गतेसम्म चल्ने परीक्षा नियन्त्रण कार्यालयले बताएको छ । परीक्षाका लागि आवश्यक तयारी पूरा भइसकेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।

सबै विद्यार्थीहरुलाई कोरोनाबिद्धको खोप दिइसकिएकाले अब परीक्षाका लागि अनुकुल वातावरण बनेको विज्ञहरुले पनि बताएका छन् ।

यसअघि साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय बोर्डले गरेको थियो । तर कोरोना महामारी बढेसँगै परीक्षा रोकिएको थियो ।

आजबाट सुरु हुने कक्षा १२ को यो परीक्षामा तीन लाख ७४ हजार विद्यार्थी सहभागी हुने हुँदैछन् । विद्यार्थीहरुलाई आफुले नै अध्यायन गरेको विद्यालयमा परीक्षा दिने व्यवस्था मिलाइएको छ ।

शैक्षिक सत्र खेर नजाओस् भन्ने उदेश्यका साथ परीक्षाको नतिजा आगामी मंसिरसम्ममै प्रकाशन गरिसक्ने परीक्षा नियन्त्रण कार्यालयले बताएको छ ।

आगामी मङ्सिर अन्तिम या पुससम्ममा नतिजा प्रकाशन गरिने जानकारी परीक्षा नियन्त्रक शर्माले दिनुभयो । यसपछि कक्षा १२ का विद्यार्थीलाई स्नातक अध्ययनका लागि बाटो खुल्ने छ ।