१३ बैशाख २०८१, बिहीबार

देशमा पहिलो पटक बजेट होलिडे, के हुन्छ अब ?

ministry of finance nepal ghatana

प्रतिनिधि सभाबाट बजेट अध्यादेश प्रतिस्थापन विधेयक पास नभएपछि देशमा पहिलोपटक बजेट होलिडेको अवस्था सिर्जना भएको छ । सरकारले प्रतिस्थापन बजेट पास गर्न नसक्दा अब भोलिदेखि नियमित खर्च रोकिनेछ ।

नेपालको इतिहासमै पहिलो पटक बजेट होलिडेको अवस्था आएको छ । नयाँ गठबन्धन सरकारले अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेटलाई प्रतिस्थापन गर्दै नयाँ बजेट बनाएको छ ।

अघिल्लो सरकारले ल्याएको अध्यादेश प्रतिस्थापन नगरेको भए त्यो अध्यादेश पनि बुधबार निस्कृय हुने थियो । अध्यादेश पनि निस्कृय भएको र नयाँ विधेयक पनि पारित नभएको स्थितिमा अब बुधबारदेखि बजेट खर्च रोकिने अवस्था आएको छ ।

प्रतिस्थापन विधेयकमार्फत बजेट ल्याए पनि पास गर्ने समय नपुग्दा बजेट खर्च रोकिएको हो । सरकारले प्रक्रिया पूरा गरेर बजेट ल्याउन खोजेको थियो । तर प्रतिनिधिसभामा नेकपा एमालेले निरन्तर अवरोध गरेपछि नयाँ सरकारले ल्याएको प्रतिस्थापन विधेयक पास नभएको हो । यसको असर बजेट खर्चमा देखिएको छ ।

जेठ १५ गते केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत बजेट ल्याएको थियो । सरकार परिवर्तनका कारण अध्यादेशको बजेट संसदमा पास भएन । अध्यादेशबाट आएको बजेट ६० दिनभित्र पारित गर्नुपर्ने हुन्छ ।

तर बजेट पारित हुनुपर्ने समय भदौ ३० सम्म भएकाले सरकारले समेत संसद अवरोधकाबीच बजेट प्रतिस्थापन विधेयक पेश गरेको थियो । एमालेले संसद अवरोध गरिरहेको अवस्थामा अर्थमन्त्री जनार्दन शर्माले भदौ २५ गते संसदमा प्रतिस्थापन विधेयक पेश गर्नुभएको थियो । नयाँ सरकारले ल्याएको प्रतिस्थापन विधेयकसमेत संसदबाट पास नहुँदा अबको केही दिन सरकारले खर्च गर्न सक्ने छैन । राजस्वमा भने पुरानै कर दर लागु हुने छ ।

प्रतिस्थापन विधेयक संसदमा छलफल गरी पारित गर्नुपर्ने भए पनि मंगलबारको बैठकले प्रतिस्थापन विधेयक विचार गरियोस भन्ने सैद्धान्तिक प्रस्ताव मात्रै स्वीकृत गरेको छ । तर पास हुन अर्को संसद बैठक कुर्नु पर्ने भएको छ र अर्को बैठक असोज ४ गते मात्र बस्ने छ । त्यसैले यो बिचमा बजेट खर्च नहुने भएको हो ।