६ बैशाख २०८१, बिहीबार

४८ घण्टाका लागि नेपाल-भारत सीमा सिल गरिने

pp

भारतको बिहार राज्यमा आसन्न ग्राम पञ्चायत चुनावको सुरक्षालाई लिएर नेपाल र भारतका सीमा सिल हुने भएका छन् ।

सोमबार दुई देशका सुरक्षा अधिकारीबीचको बैठकमा बैठकमा भारतको बिहार मधुवनी जिल्लाको ग्राम पञ्चायत चुनावको सुरक्षालाई मध्यनजर गर्दै चुनाव अवधिमा ४८ घण्टा सिमाना सिल गर्ने निर्णय भएको छ । अगामी २९ सेप्टेम्बर अर्थात् ११ असोजदेखि मधुवनी जिल्लामा चुनावको घोषणा गरिएको छ ।

११ चरणमा हुन लागेको चुनावलाई निष्पक्ष, तटस्थ तथा धाँधलीरहित बनाउनका लागि नेपालबाट पूर्ण सहयोग हुने विश्वास नेपाली सुरक्षा पक्षबाट गराइएको छ ।

नेपाली सुरक्षा अधिकारीहरूले सीमावर्ती भारतीय क्षेत्रबाट नेपालतर्फ लागु औ‍षधको निर्यात बढेको र नेपालमा अपराध गरेर भारतीय क्षेत्रमा लुकेर बस्ने गरेको विषयमा भारतीय सुरक्षा अधिकारीको ध्यानाकर्षण गराइएको धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए ।

बैठकमा अवैध सामान ओसारपसारमा थप सुरक्षा सतर्कता अपनाउने विषयमा दुवै देशका सुरक्षा अधिकारीहरू सहमत भएका बताइएको छ । भारतीय पक्षले नेपाली सुरक्षा अधिकारीबाट हुँदै आएको सहयोगको उच्चप्रशंसा गरेका थिए ।

नेपालका तर्फबाट धनुषा, महोत्तरी, सिरहा तथा सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, नेपाल प्रहरीका प्रहरी उपरीक्षकहरू, सशस्त्र प्रहरी उपरीक्षकहरू, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू तथा भारतका तर्फबाट बिहारका दरभंगाका डिभिजनल कमिसनर डा. मनीष कुमार, मधुवनी जिल्लाका डीएम अमित कुमार, मधुवनीका प्रहरी उपरीक्षक सत्यप्रकाश, एसएसबीका प्रमुखसहितका सुरक्षा अधिकारीहरूको सहभागिता थियो ।