१४ बैशाख २०८१, शुक्रबार

छिटो पास गरौँ एमसिसी राष्ट्रिय हितमा छ: बाबुराम भट्टराई

Baburam Bhattarai
फाइल फोटो

दलीय सझदारी बनाएर यथासीघ्र एमसिसी पास गर्नुपर्ने पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले बताएका छन्। जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. भट्टराईले सोमबार गृहजिल्ला गोरखाका पत्रकारहरुसँगको भेटमा एमसिसी पास गर्न अलमल गर्नुपर्ने बिषय नभएको तर्क गरे।

‘राजनीतिक दलहरुले छिटो भन्दा छिटो सहमति गरेर यो सम्झौतालाई अनुमोदन गर्नु नै राष्ट्रिय हितमा हुन्छ’, उनले भने, ‘जनता समाजवादी पार्टी एक्लैको निर्णयले एमसीसी पास गर्न सम्भव छैन।’ एमसिसीले देशको सबै आवश्यकता पूर्ति नहुने भए पनि विकास र संवृद्धिमा ठूलो टेवा पुग्ने उनको भनाइ थियो। ‘एमसीसीले सबै पुग्ने होईन, तर खानै नपाउने गरिबलाई एक छाक खान दिँदा जस्तो सन्तोष हुन्छ, एमसिसीले त्यस्तै राहत हुन्छ भन्ने मान्यता हो’, एमसीसीबारे प्रष्ट्याउँदै उनले भने, ‘मुलुकको पूरै समस्या एमसीसीले हल हुने भन्ने होइन।’

एमसीसीको विषय अहिले भ्रमको रुपमा गिजोलिएर जनस्तरसम्म फिँजिएको र अनावश्यक तर्क र बितर्कले प्रश्रय पाएको भट्टराईले बताए। ‘राष्ट्रिय सहमतिबाट नै यो छिटो टुङ्गो लागोस्’, उनले भने, ‘राष्ट्रिय हितमा हुने गरी यसलाई अघि बढाउनुपर्छ।’