१५ चैत्र २०८०, बिहीबार

धमाधम सञ्चालन हुँदै दुई वर्षदेखि बन्द रहेका शैक्षिक संस्था

students
फाइल फोटो

कोरोना संक्रमणदर कम हुँदै गएपछि करिब दुई वर्षदेखि बन्द रहेका शैक्षिक संस्था धमाधम सञ्चालन हुँदैछन् । केही जिल्लामा यसअघि नै भौतिक उपस्थितिमै विद्यालय सञ्चालन भए पनि, उपत्यकामा भने असोज १ देखि विद्यालय खुल्दैछ ।

चाडपर्व नजिकिँदै गर्दा केही हप्ताका लागि मात्रै काठमाडौंमा विद्यालय खोल्न गरिएको हतारोलाई आशंकाको रुपमा हेरिएको छ ।

दशैं ढोकामै आइपुगिसकेको छ । दशैं नजिकिँदै गर्दा २० दिनका लागि मात्रै विद्यालय खोल्न गरिएको निर्णय अभिभावकलाई त्यत्ति चित्त बुझेको छैन । लामो समयदेखि घरमै रहेका छोराछोरीलाई विद्यालय पठाउने चाहना भए पनि, तत्कालै विद्यालय पठाउने मनस्थिति भने अभिभावकको छैन ।

अभिभावकहरु छोराछोरीलाई विद्यालय पठाउने, नपठाउने दोधारमा छन् । विद्यालय सञ्चालक भने विद्यालय खोल्ने विषयमा स्पष्ट छन् । काठमाडौ‌ उपत्यकाका तीनै वटा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा हटाउँदै विद्यालय सञ्चालन गर्ने बाटो खोलिदिएपछि विशेषगरी निजी विद्यालय बढी हौसिएका छन् । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल, सरकारकै आग्रहमा विद्यालय खोल्न लागिएको दावी गर्छ ।

यसअघि अनलाइन कक्षा सञ्चालनका क्रममा मासिक शुल्क पूर्ण लिन नपाएपछि निजी विद्यालयहरुले विभिन्न शिर्षकमा अनावश्यक शुल्क उठाएको आरोप पनि लागेको थियो । अहिले पनि विभिन्न सुविधाको नाममा शुल्क उठाउन निजी विद्यालयहरुले हतारमा विद्यालय खोल्न लागेको आरोप छ । तर उनीहरु आरोपको खण्डन गर्छन् ।

अभिभावकहरु तत्कालै विद्यालय नखोलौं भन्ने पक्षमा छन् । कोरोना संक्रमणको जोखिम अझै उच्च रहेकाले, २० दिनका लागि मात्रै हतारिएर विद्यालय खोल्नु उचित नहुने उनीहरुको तर्क छ ।

चाडबाड नजिकिएकाले आर्थिक श्रोत जुटाउनकै लागि विद्यालय हतारमा खोल्न लागिएको शिक्षाकर्मीहरु पनि बताउँछन्।

कोरोनाका कारण निम्तिएको असहज परिस्थितिका कारण करिब दुई वर्षदेखि अनलाइनमार्फत भइरहेका कक्षााबाटै पनि बालबालिकाले आवश्यक ज्ञान हासिल गरिरहेका थिए । तर अहिले अचानक विद्यालय खोल्न गरिएको हतारो भने पढाउनकै लागि हो कि शुल्क उठाउन मात्र हो ? भन्ने प्रश्न उव्जिएको छ ।