४ बैशाख २०८१, मंगलवार

डडेल्धुराको वडा अधिवेशन स्वीकार नगर्ने पौडेल पक्षको चेतावनी

Ramchandra Poudel
फाइल फोटो

नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुराको वडा अधिवेशन पुनः गर्नुपर्ने माग गरेको छ ।

वरिष्ठ नेता पौडेल पक्षले आज पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी पार्टीको जिल्ला कार्य समिति र वडाध्यक्षहरुको सहमतिबिना प्रहरी प्रशासन दुरुपयोग गरेर गराइएको वडा अधिवेशन मान्य नहुने चेतावनी दिँदै पुनः गराउन माग गरेको हो ।

घोर अप्रजातान्त्रिक र आपत्तिजनक ढंगले प्रहरी प्रशासन लगाएर गरिएको सो वडा अधिवेशन मान्य नहुने चेतावनी दिँदै वरिष्ठ नेता पौडेलले पुनः गर्न सभापति देउवासँग माग गर्नु भयो ।

उहाँले भन्नुभयो, ‘जिल्ला कार्य समिति पनि संलग्न छैन । त्यहाँको नेताहरुको पनि संलग्नता छैन । तर चुनाव भयो भनिन्छ । त्यस्तो किसिमले अहिले डडेलधुरामा जुन खेल भयो, त्यो गम्भिर अप्रजातान्त्रिक र आपत्तिजनक जुन छ । यसले नेपाली कांग्रेसको १४ औं महाधिवेशनको निष्पक्ष र पारदर्शी हुन्छ भन्ने कुरामा नै शंका उत्पन्न हुन थालेको छ । यसो भएको हुनाले हामी भन्न चाहन्छौं–त्यहाँको वडाको चुनाव सम्पन्न गरियोस् । सबै जिल्ला पार्टीको उपस्थितिमा, जिल्ला पार्टी सभापतिलगायत जिल्ला कार्य समितिको सहमतिमा, वडाध्यक्षहरुको सहमतीमा, त्यहाँको विधि, विधान र नियम अनुसारनै त्यहाँको वडा अधिवेशन गराउन जोडदार माग गर्दछौं ।’

पौडेल पक्षले विधानविपरीत आफूहरु पक्षका क्रियाशील सदस्यहरु हटाउने र आफ्नो चाहिँ थप गर्ने प्रयास नगर्न पनि सभापति देउवालाई सचेत गराउँदै आएको छ ।

वरिष्ठ नेता पौडेलले महाधिवेशन निष्पक्ष र पारदर्शी हुन्छ भन्ने कुरामा नै आशंका गराउने काम नगर्न पनि सभापति देउवालाई पटक पटक आग्रह गर्नु भयो ।